1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

परमाणु छायाँमा झस्कियो पश्चिम एसिया, इरान इजरायल युद्ध अनियन्त्रित: अहिलेसम्म के-के भयो ?

निरज जोशी

काठमाडौँ, १ असार । इजरायली सेनाले शुक्रबार ‘अपरेशन राइजिङ लायन’ सुरु गरेको भन्दै इरानमाथी क्षेप्यास्त्र आक्रमण गरेको छ । इजरायको उक्त अपरेशनले इरानका आणविक र सैन्य केन्द्रहरूलाई लक्षित गर्दा आंशिक मात्रामा क्षती पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

इजरायलको आक्रमणको प्रत्युत्तरमा इरानले पनि इजरायलको राजधानी तेल अवीवमा नै मिसाइल आक्रमण गर्यो । हाल दुबै देश युद्ध मै होमिएको अवस्थामा छन् । दुबैतर्फबाट आइतबार विहानसम्म आक्रमणहरु भइरहेको छन् । यसले निरन्तरता पाउने नै देखिन्छ । यद्दपी वार्ताका प्रस्तावहरु पनि सार्वजनिक भईरहेका छन् ।

इजरायल र इरानविच जारी क्षेप्यास्त्र आक्रमणले यति बेला पश्चिम एसिया तरंगीत मात्रै होइन त्रसित भएको छ । आणविक हात हतियारले शक्तिशाली दुई मुलुकविच एक अर्काको राजधानी लक्षीत क्षेप्यास्त्र प्रहारले पश्चिम एसियामा युद्ध कै रुपमा आगो फैलने हो कि भन्ने चर्चा र बहस पनि सुरु भएको छ ।

कतै यी दुई राष्ट्रविचको द्वन्दमा अरु पश्चिमा राष्ट्रहरुले रुस-युक्रेन जारी युद्धमा युक्रेनलाई दिए जस्तै सामरिक व्याकअप इजरायललाई पनि दिन थाले भने यो युद्धको आगो चाँडै ननिभ्ने विश्लेषण पनि छ । अझ यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानलाई चेतावनी पूर्ण सामाजिक संजाल “ट्रुथ” को पोष्टले थप संशयहरु उत्पन्न भएका छन् । ट्रम्पले तेहरानलाई परमाणु कार्यक्रमका लागि सम्झौतामा आउन अपिल मात्रै गरेका छैनन कि सम्झौता नगरे जे पनि हुन सक्ने बताएका छन् । यसको सिधासिधा आशय सम्झौता नगरे जारी युद्धमा अमेरिका इजरायलको साथमा उभिन बाध्य हुने छ ! यसैविच आइतबार ओमानमा हुने तय भएको इरान-अमेरिका परमाणु वार्ता नै रद्द भएको छ । इरानका विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशमाथी इजरायलले गरेको आततायी र बर्बर आक्रमणका विच वार्ता गर्नुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी पूर्ण अभिव्यक्ति आएपनि बाँकी पश्चिमा राष्ट्रहरुले अहिलेसम्म स्पष्ट रुपमा कता र किन उभिने भन्ने विषयमा मुख खोलिसकेको देखिदैन । अद्यापी उनिहरु आणविक हात हतियारले सम्पन्न राष्ट्रहरुविच युद्ध नचर्कियोस् भन्ने मै देखिन्छ । किनकी जर्मनी, फ्रान्स र बेलायतले इरान-इजरायल तनाब कम गर्न इरानसँग वार्ताका लागि तयार रहेको बताएका छन् । जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले इरानसँग आफुहरु वार्ता गर्न तयार छौं । तर यसअघीको जस्तै इरानले वार्ताको यो अवसर चुकाउने छैन । तर उनले एउटा सर्त भने अघि सारेका छन् , “इरान युरोपका लागि खतरा नबनोस्।”

इजरायली क्षेप्यास्त्र आक्रमणबाट इरानको उर्जा पूर्वाधारका साथै विश्वकै ठूलो मध्यको एक ग्याँस क्षेत्रमा असर परेको बताइएको छ । आइतबार विहानको आक्रमणका विषयमा अन्तर्राष्ट्रिय संचार माध्यममा अनुसार इजरायलले इरानको रक्षा मन्त्रालयलाई पनि निशाना बनाएको छ । इजरायले इरानका विभिन्न १ सय ५० वटा स्थानहरुमा आक्रमण गरेको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार इजरायली आक्रमणमा परि १ सय ३८ जनाको ज्यान गएको छ । जसमध्ये ९ जना त इरानका न्यूक्लियर बैज्ञानिक नै परेका छन् । र २० भन्दाबढी इरानी सुरक्षा निकायका उपल्लो तहका अधिकारीहरु नै मारिएका छन् । इजरायनको निरन्तरको आक्रमणको प्रतिकार गर्न इरानले आफ्नो राजधानी तेहरान सहित ७ वटा राज्यमा एयर डिफेन्सिभ सिस्टम सक्रिए बनाएको छ ।

इरानले समेत इजरायलमाथी जवाफी ५० भन्दाबढि क्षेप्यास्त्र प्रहार गरेको छ । इरानको आक्रमणबाट १३ जनाको ज्यान गएको छ भने ३ सयभन्दा बढि इजरायली घाइते भएको जनाइएको छ । मृत्यु हुने मध्ये ७ जना इजरायली सैनिक समेत रहेको छन् । इरानले इजरायलका F-35 युद्धक विमान खसालेको दावी गरेको छ ।

मुख्य १० बुँदाहरू
१. आइतबार बिहान इजरायल र इरानबीच क्षेप्यास्त्र आक्रमणका ताजा दृश्यहरु सार्वजनिक भए । त्यसोत शुक्रबार इजरायलले गरेको आक्रमणका भिडियो फुटेज तथा तस्विरहरु बाहिरीएका थिए । दुबै देशले एक-अर्कामाथि मिसाइल आक्रमण जारी नै राखेका छन् ।

२. इजरायली सुरक्षा बल (IDF) ले तेहरानस्थित इरानी रक्षा मन्त्रालय र आणविक परियोजना जस्ता ठूला केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ । जसमा इरानको नन्ताज न्यूक्लियर प्लान्ट क्षेत्रपनि रहेको बताएको छ ।

३. आक्रमणमा इरानी रक्षा मन्त्रालयको मुख्यालय, SPND परियोजना कार्यालय लगायतका स्थानलाई निशाना बनाइएको थियो ।

४. इरानले पनि इजरायलमाथि आक्रमण गर्दा लाखौं इजरायली नागरिक बंकरमा लुक्न बाध्य भएको दावी गरेको छ । इरानी आक्रमणमा १३ जनाको मृत्यु र ३ सयभन्दाबढि घाइते भएका छन् । जसमा ७ सैनिक रहेका छन् ।

५. इजरायली सेनाका अनुसार आक्रमणमा इरानका उच्च जनरलहरू, वैज्ञानिकहरू र विशेषज्ञहरूको मृत्यु भएको छ । इरानी पक्षका अनुसार ७८ जनाको मृत्यु र ३ सय २० भन्दा बढी घाइते भएका छन् ।

६. इरानले जनाएको छ कि तेहरानस्थित शाहरान तेल डिपो इजरायली हमलामा निशानामा परेको छ । साथै, साउथ पारस ग्यास क्षेत्रको उत्पादन पनि आंशिक रूपमा रोकिएको छ ।

७. जेरुशलम र तेल अवीवमा हवाई हमलाका साइरनहरु बजाइएको छ । इरानी रिभोल्युशनरी गार्डले इजरायलको ऊर्जा पूर्वाधार र जेट इन्धन उत्पादन स्थलहरूमा हमला गरेको दाबी गरेको छ ।

८. ओमानमा आइतबार हुने तय भएको अमेरिका–इरान आणविक वार्ता रद्द गरिएको छ । इरानी विदेशमन्त्री अब्बास अराक्चीले भनेका छन् कि जबसम्म इजरायली आक्रमण बन्द हुँदैन, वार्ता गर्नुको कुनै अर्थ छैन ।

९. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानलाई परमाणु कार्यक्रमबारे अमेरिका सँग सम्झौता गर्न आह्वान गरेका थिए । उनले चेतावनी दिएका छन् कि ‘केही बाँकी रहनु अघि नै सम्झौता गर्नुपर्ने हुन्छ।’

१०. जर्मन, बेलायत र फ्रान्सले इरानलाई स-शर्त वार्ताको प्रस्ताव गरेका छन् ।