1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

म्याग्दीमा व्यावसायिक अरिँगालपालन

म्याग्दी, १२ असार । पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिँगालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका– ६, जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगालपालन गर्दै आएका छन्।

शाहीले नजिकैको जंगलबाट ल्याएर ११ गोला अरिँगाल पाल्न थालेको बताए । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उनीसँगै श्रमती गीताले अरिँगालपालन गरेका हुन् ।

‘नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जंगलबाट घरमा ल्याएर गरेको अरिँगालपालन सफल भएको छ,’ गीताले भनिन्, ‘मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिँगाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।’

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहेकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आएका श्रीमान् अशोकले साथ दिएका छन् ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिँगालको लार्भा निकाल्न सकिने अशोकले जानकारी दिए । ‘जंगलमा अरिँगालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ,’ उनले भने, ‘अरिँगालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिँगालको गोला ल्याएर पाल्ने गरेका छौँ ।’

जंगलबाट ल्याइएको अरिँगाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाहीदम्पतीको अनुभव छ । ‘बेनीका होटेलमा अरिँगालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो रु. तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको छ,’ शाहीले भने।

गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाहीदम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताए। पालेका अरिँगाल चरनका लागि जंगल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्ग्रा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिँयालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताए।

शक्तिबर्द्धक मानिने अरिँगालको भुटेको लार्भा प्रतिरिकापी रु. ६ सयका दरले बिक्री हुने बेनीका होटेल व्यवसायी राजन लामाले बताए। अरिँगाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उनको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिँगालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन्।

‘अरिँगाल पाल्न सजिलो काम भने होइन । गोला जंगलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिँगाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ,’ अशोकले भने, ‘वास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।’ उनका अनुसार रातो र कालो जातका अरिँगाल बढी पाइन्छन्।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिँगालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताए। ‘लार्भाका लागि गोला पोलेर अरिँगालको वंश नै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ,’ उनले भने, ‘जोखिम भएकाले अरिँगालपालनमा सावधानी भने अपनाउन आवश्यक छ।’