1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

डर्टमण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

एजेन्सी, १२ असार । जर्मन क्लब बोरुसिया डर्टमण्डले फिफा क्लब विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राख्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

बिहीबार बिहान भएको समूह चरणको निर्णायक खेलमा उसले दक्षिण कोरियाली क्लब उल्सान एचडी एफसीलाई १-० ले हराउँदै समूह ए को शीर्ष स्थानमा रहन सफल भयो ।

अमेरिकाको टिक्युएल रंगशालामा भएको खेलमा डर्टमण्डका लागि निर्णायक बने डेनियल स्वेन्सन । उनले पहिलो हाफमै जोब बेलिङघमको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।

यस जितसँगै डर्टमण्डले ३ खेलबाट सात अंक जोड्दै समूह विजेता बन्न सफल भयो। ब्राजिलको फ्लुमिनेन्स समान खेलमा ५ अंकसहित उपविजेताको रूपमा अन्तिम १६ मा पुग्दा, दक्षिण अफ्रिकाको मामेलोडी सनडाउन्स चार अंकसहित बाहिरियो।

उल्सान भने प्रतियोगिताबाट अंकविहिन रहँदै बाहिरीन बाध्य भयो । यसै समूहको अर्को खेलमा फ्लुमिनेन्स र सनडाउन्सबीचको भिडन्त गोलरहित बराबरीमा टुंगिएको छ ।