1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

एसईई २०८१: बागमती टप, झन्डै दुई लाख विद्यार्थीले पाए एनजी

काठमाडौँ, १३ असार। कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार सार्वजनिक भएको छ ।

यो वर्ष करिब ५ लाख १० हजार परीक्षार्थी सहभागी भएका एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शुक्रबार साँझ नतिजा सार्वजनिक गर्दै ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण र ३८.१९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको जानकारी दिएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यो वर्ष उत्तीर्ण हुनेको प्रतिशत अघिल्ला वर्षको तुलनामा सुधारिएको हो। गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो, जुन यसपटक झन्डै १४ प्रतिशतले वृद्धि भएको हो ।

यस वर्ष १ लाख ६७ हजार ५९७ जनाले एनजी (Not Graded) पाएका छन्, जसको अर्थ उनीहरूले न्यूनतम आवश्यक २७ अंक नल्याएर सैद्धान्तिकतर्फ फेल भएका हुन् । एनजी आएका विद्यार्थीका लागि साउन २९ गतेदेखि पूरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।

उत्तीर्ण विद्यार्थीहरूमा ४८ हजार १ सय ७७ जनाले जीपीए ३.६० देखि ४.० सम्मको उच्च श्रेणी प्राप्त गरेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै विद्यार्थी बागमती प्रदेशबाट पास भएका छन्। यहाँका १ लाख १९ हजार ५१७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसपछि लुम्बिनी (९७,६८७), मधेस (५९,७४९), सुदूरपश्चिम (५९,८०४), गण्डकी (४७,८४९), कोशी (४७,८३५) र कर्णाली (४६,४५५) प्रदेशका विद्यार्थी क्रमशः उत्तीर्ण भएका हुन् ।

यस वर्ष १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। बोर्डका अनुसार नियम विपरीत गतिविधि वा अन्य कारणले उनीहरूको परीक्षा अमान्य ठहर गरिएको हो।

एसईई २०८१ सालको परीक्षा चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो। अहिले पनि वेबसाइटहरूमा नतिजा हेर्न विद्यार्थी र अभिभावकको चाप अत्यधिक देखिएको छ।