1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

रास्वपाको घाँटी थिच्ने खेल खेल्दै छ सरकार: बाबुराम भट्टराई

काठमाडौँ, १४ असार। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले देखिनेगरी नै प्रतिशोध साँधेको बताएका छन् ।

आज शनिबार रास्वपासँग ऐक्यवद्धता जनाउन पुगेका डा.भट्टराई नयाँ उदयीमान शक्तिहरुको भ्रुण नै हत्या गर्न खोज्ने षड्यन्त्र विगतदेखि नै भइरहेको बताए । उनले रवि लामिछानेको मामलामा देखिनेगरी नै प्रतिशोधको गन्ध आइरहेको दाबी गरे ।

‘म आफैं लोकतन्त्र, गणतन्त्रको निम्ति लडेको व्यक्ति हुनाले अदालते तथ्य प्रमाणसहित दोषी ठहर नगरेसम्म ऊ निर्दोष हुन्छ भन्ने सिद्धान्त पनि छ । फेरि एउटा राजनीतिक व्यक्तित्वलाई देखिनेगरी प्रतिशोध भएको गन्ध आउँछ । यो ठीक भएन भनेर म नयाँ वैकल्पिक शक्तिहरुको रुपमा उदयीमान भइराखेको राष्ट्रिय स्वतन्त्र पार्टी छ, रवि लामिछाने मेरा मित्र पनि हुनुहुन्छ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न म यहाँ आएको हुँ,’– उनले भने ।

लामिछानेमा एकपछि अर्को गर्दैै हिरासतमा राख्ने र घुमाइराख्ने, जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने कर्तव्य गर्न पनि नदिने काम भइरहेको उनले बताए । यसले विधिको शासनभन्दा पनि अरु कुनै नियतले काम गरेको छ कि भन्ने शंका गर्ने प्रशस्त आधार प्रदान गरेको उनले बताए । यस्ता प्रकारका गतिविधिमा राज्य सफल नहुने उनको दाबी छ । पुराना राजनीतिक दलहरुले आफ्नै लागि गहिरो खाडल तयार गरिराखेको उनको टिप्पणी छ ।

पुराना राजनीतिक दलहरुको निधेषको राजनीतिले नयाँ वैकल्कि राजनीतिक शक्तिको उदयका लागि थप आधार बनाइरहेको उनको दाबी छ । ‘जनताले सैद्धान्तिक रुपमा भन्दा पनि व्यवहारबाट बढी बुझ्ने हो । उहाँहरुको गलत हर्कत, गलत नियत आम जनताले बुझ्नेगरी प्रकट भइराखेको छ । प्रकारान्तरले वैकल्पिक र नयाँ शक्ति उदयको निम्ति आधार तयार पार्दैछ ।

वैकल्पिक र नयाँ शक्तिहरुको बीचमा सहकार्य गर्दै यस्ता बेथिति र विकृतिको विरुद्धमा लड्दै देशलाई निकास दिनुपर्ने उनले बताए ।