1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सिद्धार्थ बैंकको डिजिटल सेवा अझ आधुनिक

काठमाडौँ, १६ असार। डिजिटल सेवा सशक्तीकरणको अभियानलाई अघि बढाउँदै सिद्धार्थ बैंक लिमिटेडले ‘ईजी बैंक’ नामक डिजिटल प्लेटफर्मलाई थप आधुनिक बनाएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै यस प्लेटफर्ममा बैंकिङ सेवा सहज, सुरक्षित र सम्पूर्ण रूपमा घरबाटै प्राप्त गर्न मिल्ने वातावरण निर्माण गरिएको छ। अब ग्राहकले मोबाइल, ल्यापटप वा कम्प्युटरबाटै बैंकका अधिकांश सेवा उपयोग गर्न सक्नेछन्।

‘ईजी बैंक’ सिद्धार्थ बैंकको वेबप्लेटफर्म हो, जसमा खाता विवरण, कर्जा सेवा, ग्राहक सेवा, केवाइसी अपडेट, कार्ड सेवा र डिम्याट सेवा समेत समेटिएका छन्। बैंकको वेबसाइटमार्फत लगइन गरी “ईजी बैंकमा प्रवेश गर्न सकिने यो प्लेटफर्ममा प्रयोगकर्ताले अब आफ्नो चल्ती, बचत, मुद्दती निक्षेप र कर्जासम्बन्धी विवरण सहजै हेर्न सक्नेछन्। साथै चेक विवरण, नन–फण्डेड कर्जा स्थिति लगायत सबै विवरणहरू डिजिटलरूपमै प्राप्त गर्न सकिने छन्।

यसमा ऋण माग गर्न सकिने सुविधा समेत उपलब्ध छ, जसको स्वीकृति भएपश्चात रकम सिधै खातामा जम्मा हुनेछ। मर्चेन्ट क्युआर सञ्चालनकर्तादेखि क्रेडिट कार्ड प्रयोगकर्तासम्मका लागि कर्जाको सुविधा सजिलै लिन सकिने व्यवस्था गरिएको छ। साथै, क्रेडिट कार्डको बक्यौता रकमलाई किस्ताबन्दी प्रणालीमा परिवर्तन गर्ने सेवा पनि समावेश गरिएको छ।

ग्राहक सेवा क्षेत्र अन्तर्गत चेक हराएको अवस्थामा रोक्का गर्न, खाता ब्लक गर्न वा खाताको प्रकार परिवर्तन गर्न जस्ता कामहरू अब शाखा जानु नपर्ने गरी डिजिटलरूपमै गर्न सकिन्छ।

त्यस्तै, केवाइसी अपडेट सेवा अन्तर्गत व्यक्तिगत विवरण, प्यान नम्बर, पेशा, ठेगाना, मोबाइल नम्बर, इमेल लगायतका जानकारी अपडेट गर्न सकिनेछ। यी सबै कागजात सुरक्षित रूपमा अनलाइनमा पेश गर्न सकिने भएकाले यो सेवा धेरै प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कार्ड सेवा अन्तर्गत नयाँ कार्डको लागि आवेदन, म्याद सकिएको कार्डको नविकरण, कार्ड ब्लक, पिन रिसेट, कार्ड विवरण र खाताको विवरण हेर्ने सुविधा समेत समावेश गरिएका छन्। कार्ड नविकरणपछि ग्राहकले आफू अनुकूल शाखाबाट कार्ड प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

‘ईजी बैंक’ प्लेटफर्ममार्फत डिम्याट सेवा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत ग्राहकले नयाँ डिम्याट खाता खोल्न, सिआरएन नम्बर हेर्न तथा आवश्यक विवरण भरेर आईपीओ आवेदनको प्रक्रिया सहज बनाउन सक्नेछन्।

सिद्धार्थ बैंकले प्रविधिको प्रयोगमार्फत आफ्नो बैंकिङ सेवा प्रणालीलाई यथासक्य सहज, द्रुत र ग्राहकमैत्री बनाउने उद्देश्य लिएको जनाएको छ।

‘ईजी बैंक’ प्लेटफर्मले बैंकिङ सेवा उपयोगमा आउने झन्झट र समयको खपत हटाउने विश्वास लिइएको छ। बैंकले यो सेवा निरन्तर सुधार गर्दै जाने स्पष्ट प्रतिवद्धता पनि जनाएको छ।