1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भोटेकोशीमा अहिलेसम्मकै ठूलो बाढी, मितेरी पुलमा क्षति, केरूङबाट फर्किंदै गरेका गाडी बगाए

काठमाडौँ, २४ असार। चीनतर्फको क्षेत्रमा परेकाे लगातारको भिषण वर्षाका कारण भोटेकोशी नदीमा हालसम्मकै ठूलो बाढी आएको छ।

नदीमा पानीको सतह एक्कासि अत्यधिक रूपमा बढेपछि त्यसको प्रभाव नेपालतर्फका विभिन्न स्थानहरूमा समेत देखिएको हो ।

बाढीका कारण त्रिशुली नदीको जल सतह पनि ह्वात्तै बढेको छ, जसले आसपासका बस्तीहरूमा खतरा बढाएको छ। जलस्रोतमा आएको अचानकको वृद्धिले जनजीवन प्रभावित बनाएको छ भने स्थानीय बासिन्दा त्रसित बनेका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित मितेरी पुल समेत बाढीको चपेटामा परेको छ। पुलको संरचना केही हदसम्म क्षतिग्रस्त भएको र यो यात्रु तथा मालवाहक सवारीका लागि जोखिमपूर्ण बनेको बताइएको छ ।

केरूङ नाका हुँदै सामान लिन गएका र सामान लिएर फर्कंदै गरेका थुप्रै गाडीहरू बाढीको भेलमा बगाएका छन्। यस्तै, भन्सारको औपचारिक प्रक्रिया पूरा गर्न सीमामा रोकिएका अन्य सवारी साधनहरू पनि बाढीको जोखिममा परेका छन्।

जिल्ला प्रशासन कार्यालय, रसुवाले नागरिकहरूलाई सतर्क रहन आग्रह गर्दै बाढीबाट हुने सम्भावित जोखिमको मूल्याङ्कन गरिरहेको जनाएको छ। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र नदी आसपास नजान विशेष अनुरोध गरिएको छ।

हाल उद्धार र राहत कार्यको तयारी भइरहेकाले नागरिकहरूलाई अनावश्यक हल्लामा नपर्न र आधिकारिक सूचनामार्फत मात्र जानकारी लिन प्रशासनले अनुरोध गरेको छ।