1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

रसुवामा बाढीको वितण्डा अपडेट: ५० जनाको उद्धार, बाढीको डर अझै कायम

काठमाडौँ, २४ असार । गएराति रसुवामा चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।

उक्त घटनामा हालसम्म ५० जनाको उद्धार भएको छ।

पछिल्लो पटक रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइटमा फसेका १८ जनालाई (जसमा १ जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला रहेका थिए) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीले झोलुङ्गे पुलमार्फत उद्धार गरेको हो।

यससँगै हालसम्म उद्धार गरिएकाहरूको संख्या ५० पुगेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरूमा ४ महिला र ४६ पुरुष रहेका छन्।

बाढीले थप क्षति पुर्‍याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ भने सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।