1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)मा सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजहरुमा गरेर विभिन्न विषयमा गत वर्षको तुलनामा थप २३१ सिट संख्या थप गरेको छ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको छ।

बैठकले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको हो। बैठकको दिन पीजीमा २०९ सिट थप्ने निर्णय भएको बाहिर आएको थियो। तर उक्त २०९ सिटमा प्रदेशका दुई प्रतिष्ठानहरुको २२ सिट जोडिएको थिएन। मधेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहित १७ औं बैठकले २३१ सिट थप गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार यो वर्ष सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान र संस्थाहरुमा गरेर पीजीमा सबै विषय गरेर एक हजार २६ सिट पुगेको छ। गत वर्ष यी संस्थाहरुमा ७९५ सिट थियो।

आयोगका ती सदस्यले उपलब्ध गराएको विवरण अनुसार यो वर्ष सबैभन्दा धेरै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सिट संख्या थप भएको छ। न्याम्समा यो वर्ष पीजीमा ११८ सिट थप भएको हो। थप भएको सिटसहित न्याम्समा पीजीका सबै विषयको सिट संख्या २५० पुगेको छ।
त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप भएको छ। बीपीमा अब पीजीमा सिट संख्या २०४ पुगेको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपियो सिट
आयोगले गत साता एक सिट मात्र दिएको भनिएको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सिट संख्या थप भएको छ। १७ औं बैठकले मदन भण्डारी प्रतिष्ठानलाई आठ सिट दिने निर्णय गरेको छ।