1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

वित्तीय अराजकता बढ्दो छ, अब लचिलो होइन कडाइ चाहिन्छ: पुर्वमन्त्रि पुन

काठमाडौँ, २५ असार । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति अनुशासित र आवश्यक खालको लचिलोपनसहित ल्याउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै पुनले रोजगारी र उत्पादन वृद्धि गर्ने क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा प्रवाह सुनिश्चित हुने खालको मौद्रिक नीति आवश्यक रहेकोमा जोड दिए।

“यो पटकको वित्त नीति नै सङ्कुचित आएको छ,” उनले भने, “बजेटको आकार घट्दा स्रोत पनि कम देखिएको छ। अब मौद्रिक नीतिमा धेरै ठाउँ छैन, तर नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा गरेका छन्।”

पूर्वमन्त्री पुनले विगतमा राहतमुखी नीति लचिलो भए पनि नियमन कमजोर भएकाले अहिलेको नीति अनुशासित हुनुपर्ने उल्लेख गरे। उनले नियमन बलियो बनाउँदै उद्योग–व्यवसायको मनोबल उच्च राख्नुपर्ने सुझाव दिए।

“ठूला कर्जा लिएका उद्योगहरूको आर्थिक अनुशासन कमजोर देखिएको छ,” उनले भने, “त्यसैले नियमन सुदृढ गर्नु अत्यावश्यक छ।” साथै उनले पुँजी बजार र घरजग्गा क्षेत्रमा भने लचिलोपन देखाउनुपर्ने धारणा राखे।

बैठकमा उपस्थित अन्य सांसदहरूले पनि नीति निर्माणमा व्यावहारिकता र पारदर्शिता आवश्यक रहेको सुझाव दिएका थिए।