1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मन्त्री परिवर्तन गर्ने प्रमको तयारी, सत्ता भित्रै चल्दैछ सौदाबाजी र मालदार मन्त्रालयको खेल

काठमाडौँ, २६ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्दा पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरु हटाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउनेगरि गृहकार्य थालेका छन् ।

स्पेनबाट फर्किएपछि नै प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको भन्दै केही मन्त्रीहरु हटाउनेगरि छलफल थालेका हुन् ।
यो विषयमा प्रधानमन्त्री ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेतृत्वसँग पनि छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने अहिले आफ्नो दलबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता नबोलाउने अडान लिएको बताईन्छ ।

यस्तोमा प्रधानमन्त्री ओलीले आफ्नो दलका सबै मन्त्रीहरु फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउनेगरि पनि गृहकार्य गरेको बताईन्छ । तर, कतिपय मन्त्रीहरुले राम्रो काम गरेको भन्दै हटाउन नहुने मत पनि एमालेमा बलियो छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टीले पनि आफ्ना दुई मन्त्री फिर्ता बोलाउने र उनीहरुको ठाउँमा अरुलाई पठाउनेगरि गृहकार्य गरेको छ । उता, महन्थ ठाकुरले पनि आफ्नो दलबाट सरकारमा सहभागी शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी गरेका छन् ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तर, नाउपाबाट पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका अरुण चौधरीले भने अहिलेसम्म राजीनामा दिएका छैनन् । उता, उपेन्द्र यादवले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेका छन् ।

तर, संसदीय दलको बैठकबाट यसबारे निर्णय भने लिन सकेका छैनन् । अहिले नाउपा र जसपा नेपाल दुवै दलले सरकारमा सहभागिताको लागि बार्गेनिङ गरिरहेको पनि टिप्पणी गर्न थालेका छन् । नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आँफै राम्रो मन्त्रालय पाए सरकारमा सहभागी हुने हल्ला छ ।

उता, उपेन्द्र यादवले पनि सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय कार्यकारिणी समितिबाट धेरैअघि गराएका हुन् । तर, संसदीय दलको बैठकबाट भने यसबारे निर्णय लिन सकेका छैनन् ।

यादवले पनि मालदार मन्त्रालय पाए आँफै सत्तारोहण हुने चाहना राखेको चर्चा छ ।