1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

हाइड्रो र होटलको आइपीओ सहकारी जस्तै ठगीको नयाँ संस्करण हो: स्वर्णिम वाग्ले

काठमाडौँ, २६ असार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले हाइड्रो र होटलहरुले आइपीओ जारी गरेर सहकारी जस्तै भाग्ने खतरा देखिएको बताएका छन ।

बिहीवार अर्थ समितिको बैठकमा वाग्लेले यस्तो बताएका हुन् । हालका दिनमा घाटा बेहोर्दै आएका केही हाइड्रोपावर, होटल तथा पर्यटन कम्पनीहरू नियामकीय कृपादृष्टिको भरमा प्राथमिक सेयर (IPO) मार्फत साना लगानीकर्ताको ढाडमा खुकुरी हान्न उद्यत रहेको वाग्लेको आसय थियो ।

वाग्लेले स्पष्ट शब्दमा भने, “घाटामाथि घाटामा गएका कम्पनीहरूलाई जबरजस्ती आइपीओमा लैजानु, र त्यसलाई नियामक निकायले स्वीकृति दिनु स्वयंमा रहस्यमय र आपत्तिजनक छ।” बजारमा लगातार घाटा व्यहोरेका, आधारभूत व्यावसायिक मोडेल नदेखिने र पारदर्शिता विहीन सञ्चालकहरूको हातमा चलेका कम्पनीहरूलाई आइपीओ ल्याउन अनुमति दिँदा जनताका दुःखले बचत गरिएका रकम डुब्ने गम्भीर जोखिम रहेको वाग्ले बताए ।

वाग्लेको तर्क थियो: धितोपत्र बोर्ड (सेबोन) लगायत नियामक निकायहरू जनताको हितभन्दा बढी केही समूहको स्वार्थमा झुकेका छन् । “सेयर बजारलाई नियमन गर्नु पर्ने बोर्डहरू स्वयं खराब बाटोमा हिँड्दैछन् भने, यसको परिणाम साना लगानीकर्ताको लागि विनाशकारी हुन सक्छ,” वाग्लेले दोहोऱ्याए ।

सहकारी घोटलाको संकेत गर्दै वाग्लेले, यो प्रवृत्ति हालै देखा परेका सहकारी ठगी जस्तै रहेको बताए । मिठा सपना देखाएर पैसा उठाउने, र अन्त्यमा सर्वसाधारण लगानीकर्ता ठगिने । उनले यस्ता घटनाहरू दोहोरिन नदिन समितिले तत्काल हस्तक्षेप गर्नुपर्ने धारणा राखे ।

सांसद वाग्लेले अनुसन्धानको माग गर्दै हाइड्रो, होटल, र अन्य ‘न्यूनस्तरीय’ कम्पनीहरूले किन र कसरी आइपीओ ल्याउन पाइरहेका छन् भन्नेबारे संसदले वृहत् अनुसन्धान गर्नुपर्ने र यदि नियामक तहमा साँच्चै गम्भीर चासो नदिएको देखिएमा कारबाही प्रक्रिया सुरु गर्नुपर्ने माग समेत गरे ।