1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

तीज गीतको नाममा फैलिएको विकृति रोक्न सरकार प्रतिबद्ध, कडा निगरानी सुरू

काठमाडौं, २६ असार। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले भड्किलो गीत संगीतको बढ्दो प्रवृत्ति विरुद्ध गृहमन्त्री रमेश लेखकलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

तीजलाई विकृति, अश्लीलता र भड्किलोपन तर्फ मोड्ने गीत-संगीतको बढ्दो प्रवृत्तिविरुद्ध सञ्चारकर्मी नेपालले गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको हो ।

पछिल्ला वर्षहरूमा विशेषगरी तीज गीतको नाममा युट्युब र सामाजिक सञ्जालमा प्रसारण गरिने सामग्रीहरू मौलिकता र मर्यादाबाट धेरै टाढा गएको सञ्चारकर्मी नेपालले प्रष्ट पारेको छ । “न त ती गीतमा लोकलय बाँकी छ, न त तीजको पीडा “। सञ्चारकर्मी नेपाल भन्छ: “अब त बोलमा अश्लीलता र दृश्यमा उत्तेजक नाच मात्रै बाँकी छ” ।

लोक सञ्चारकर्मीहरूले गृहमन्त्री लेखकलाई बुझाएको ध्यानाकर्षण पत्रमा मुख्यतया यस्ता बुँदाहरू समेटिएका छन्:

छाडा र विकृत तीज गीत तत्काल हटाउन निर्देशन दिनु ।
विकृति फैलाउने कलाकार, निर्देशक र युट्युबरलाई कारबाहीको दायरामा ल्याउनु ।
सांस्कृतिक मर्यादा मिच्ने गीतप्रति साइबर निगरानी बढाउनु ।
‘लोक गीत-संगीत विकास बोर्ड’ गठन गरी यस्ता गीतको पूर्वमूल्यांकन गर्ने व्यवस्था गर्नू ।
समाजमा सांस्कृतिक अराजकता फैलाउने प्रवृत्तिप्रति ‘शून्य सहनशीलता’ अपनाउनु ।

गृहमन्त्री लेखकले लोक सञ्चारकर्मीको चिन्ता गम्भीर रूपमा लिएको बताउँदै साइबर ब्यूरोमा विशेष सेल गठन गरेर छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री लेखकले सांस्कृतिक मूल्य र परम्पराको संरक्षण सरकारको कर्तव्य भएको भन्दै सामाजिक सञ्जालमा मौलाउँदै गएको सांगीतिक विकृति रोक्न गम्भीर पहल हुने आश्वासन समेत दिए ।