1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बुर्तिबाङको १३२ केभी परियोजना लम्बियो, विरोध र रिटको कारण ठप्प: काम अझै अधुरो

काठमाडौँ, २७ असार। बागलुङको बुर्तिबाङमा निर्माण भइरहेको १३२ केभी क्षमताको सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न हुन सकेको छैन । छ वर्षअघि सुरु गरिएको आयोजना अन्तिम चरणमा पुगे पनि स्थानीय अवरोधका कारण १८ किलोमिटर तार तान्ने काम रोकिएको छ ।

बडिगाड गाउँपालिका–५ का स्थानीयवासीले प्रसारण लाइनका टावरहरू तथा तार बिछ्याउन अवरोध गर्दै सर्वोच्च अदालतसम्म रिट दायर गरेपछि आयोजना थला परेको हो । यद्यपि, सर्वोच्चले गत वर्ष असार ९ गते रिट खारेज गरिसकेको छ । आयोजनाका प्रमुख मनोज चौधरीका अनुसार टावर निर्माण पूरा भइसकेको छ, तर पौँदी अमराईदेखि बुर्तिबाङसम्मको अन्तिम खण्डमा तार तान्न नपाउँदा सबस्टेशन सञ्चालनमा आउन सकेको छैन।

सबस्टेशनको निर्माण कार्य ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । कपिलवस्तु मोतिपुरदेखि सुरु भएको लाइनले अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै बागलुङको बुर्तिबाङ जोड्ने योजना छ । सन्धिखर्कसम्मको लाइन २०७८ चैतमा परीक्षण गरी सञ्चालनमा ल्याइएको थियो भने तम्घास सबस्टेशन २०७९ असार ७ गतेदेखि सञ्चालनमा आइसकेको छ।

आयोजनाका लागि सबस्टेशन निर्माणको जिम्मा मुडभरी/जोशी/गौरा जेभीले करिब ४० करोडमा लिएको हो भने लाइन विस्तारका लागि करिब ८३ करोडको ठेक्का सिक्माकोन/एमएसपील जेभीले पाएको थियो। कुल ८६ किलोमिटर दूरीको लाइनमध्ये अब जम्मा १८ किलोमिटरको काम मात्रै बाँकी छ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अवरोध हटाउन प्रभावित स्थानीयलाई मुअब्जा वितरण गर्न कार्यदल गठन भइसकेको र प्रतिवेदन आएपछि समस्या समाधान हुने बताउनुभएको छ। चौधरीले म्याद थपिए पनि निर्माण कम्पनी स्थानीय सहमतिबेगर काम गर्न नसकेको बताएका छन्।