1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अष्ट्रेलियामा एनआरएनए विवाद सुल्झाउने प्रयास, एकता महाधिवेशनको प्रक्रिया सुरु

काठमाडौं, २९ असार। गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा लामो समयदेखिको मतभेद र असहमतिको अवस्था समाधान गर्न ‘एकता महाधिवेशन’ संयोजन प्रक्रिया प्रारम्भ गरिएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उच्चस्तरीय समितिको सिफारिसमा विवेक थापालाई अष्ट्रेलियाको एकता महाधिवेशन संयोजकको जिम्मेवारी दिइएको छ ।

एनआरएनए महासचिव बी.आर. लामाले जानकारी दिँदै अष्ट्रेलियामा समावेशी, निष्पक्ष र सर्वपक्षीय ढंगबाट साझा संगठन निर्माणका लागि थापाको संयोजनमा निर्वाचन प्रक्रिया अघि बढाइने बताएका छन् । “समग्र गैर-आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ यो जिम्मेवारी दिइएको हो,” उनले बताए ।

थापाले अष्ट्रेलियामा सक्रिय संघसंस्था, क्षेत्रीय प्रतिनिधि, तथा समुदाय नेतृत्वसँग परामर्श गर्दै सदस्यता वितरणको प्रक्रिया सुरु गरिने जनाएका छन् । ओसिनिया क्षेत्रीय संयोजक इर्साद अहमदका अनुसार, MIS प्रणालीमार्फत सदस्यता लिन छुटेका झन्डै १५ हजारभन्दा बढी नेपालीहरूलाई समेट्ने लक्ष्यसहित पुनः सदस्यता प्रक्रिया थालिने छ ।

संयोजक अहमदले भने, “संवाद, पारदर्शिता र समावेशी सहभागितामार्फत समस्याको समाधान खोजिनु पर्छ । अहिलेको परिस्थिति समाधान गर्न हामी सबै संरक्षक, पूर्व अध्यक्ष, भूतपूर्व पदाधिकारी तथा सबै क्षेत्रीय नेतृत्वकर्ताको सहभागिता अपरिहार्य ठान्छौं ।”

वर्तमान कार्यसमितिले एकपक्षीय ढंगमा सदस्यता वितरण गर्दा चासो नदेखाएको, समावेशीताको भावना बेवास्ता गरेको गुनासो बढेपछि ICC अन्तर्गतको समितिले वैकल्पिक संयन्त्रमार्फत प्रक्रिया अघि बढाएको हो ।

एकता संयोजक थापाले भने, “हामी सबैको संयुक्त प्रयास, समय र समर्पणले अष्ट्रेलियालाई उदाहरणीय राष्ट्रिय समन्वय परिषद बनाएको हो । यसकै निरन्तरताका लागि सबै पक्षको सहभागिता आवश्यक छ ।”

गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न “एकता महाधिवेशन” बाट महेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ ICC कार्यसमिति निर्वाचित भएपछि अष्ट्रेलियामा समेत सहमतिको नेतृत्व निर्माण गर्न लागिएको हो ।

एनआरएनएको अष्ट्रेलिया च्याप्टरलाई सशक्त, समावेशी र लोकतान्त्रिक बनाउने लक्ष्यसहित पुनः सदस्यता प्रक्रिया सुरु गर्न लागिएको जानकारी संस्थाले सार्वजनिक गर्दै सबै एनआरएनहरूलाई सहभागिताको आह्वान गरेको छ ।