1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सरकार भित्रै घुसको नांगो ताण्डव, प्रधानमन्त्रीको मौनता कि संलग्नता? जवाफ माग्दै आक्रोशमा उर्लियो संसद

काठमाडौं, २९ असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस प्रकरण प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका छन् ।

अडियोमा मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यलय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासन मन्त्रीले विचौलियासँग ५३ लाख र भूमी आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख गरी ७८ लाख घुस डिल गरेको प्रष्ट छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ उक्त अडियोमा भनिएका ‘बा’ को हुन् ? भनी संसद्मा प्रश्न गरिने । उनले यस प्रकरणको सत्यतथ्य छानविनको माग गरिन् । ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ । किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ । यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो र अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?’ प्रश्न गर्दै उनले भनिन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले सामान्य प्रशासन मन्त्रीको घुस काण्ड के भएको हो भन्ने प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरिन् । उनले यस प्रकरण छानविन गरी दोषी जो भए पनि कारबाही गरिनुपर्ने माग राखिन् ।

‘मिडियामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ? सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु । यसको छानविन गरेर दोषी जोसुकै होस्, उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् । अन्यथा सरकारको एक वर्षको उपलब्धी यही हुने छ,’– उनले भनिन् ।

त्यस्तै, माओवादी केन्द्र कि नेतृ एवं प्रतिनिधिसभा सदस्य दुर्गा राईले पनि उक्त अडियो प्रकरणमा प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताईन् । उनले भनिन्, ‘यो विषय सामान्य प्रशासनमन्त्रीको मात्रै नभएर सम्माननीय प्रधानमन्त्रीको विषय पनि हो । कु्नै मन्त्रीको विवाद भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो । मन्त्रीजीहरुको घुसको डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैैन । मन्त्रीहरुले नैतिकता देखाउने त टाढाको विषय बन्दै छ । प्रधानमन्त्रीज्यूले म घुस पनि लिन्न, अरुलाई घुस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’ उनले भने ।

त्यस्तै, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरे । उनले यस विषयमा सरकारको तर्फबाट सार्वभौम संसद्लाई सत्यतथ्य जानकारी गराइनुपर्ने बताए । ‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ । सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रोसँग स्मरण छ, यही गरिमामय संसद्मा प्रधानमन्त्रीले भन्नु भएको थियो– म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ ।

यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु । हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्य तथ्य जवाफ चाहियो,’– उनले भने ।