1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

किङ्स कलेजको उद्यमशिल सम्मेलन: नेपाली युवा विश्व मञ्चमा

काठमाडौँ, ३२ असार। नेपालमा उद्यमशीलता शिक्षालाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको किङ्स कलेजले फेरि एक ऐतिहासिक पहल थालेको छ: नेपाल इन्टरप्रेनरसिप सम्मेलन २०२५

कलेजले युवाको क्षमता, नवप्रवर्तन र सम्भावनालाई उजागर गर्ने उद्देश्यले नेपाल इन्टरप्रेनरसिप सम्मेलन २०२५ आयोजना गर्ने भएको हो ।

साउन १० र ११ गते सोल्टी होटलमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित फिनल्यान्ड, जापान, भारत, बङ्गलादेश र कोसोभो लगायत देशका २५ भन्दा बढी वक्ता, विज्ञ र उद्यमीहरूको सहभागिता रहनेछ।

‘टुवर्डस् सस्टेनेबल इन्टरप्रेनरसिप इकोसिस्टम’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यो सम्मेलन किङ्स कलेजको नेतृत्वमा हुन लागेको दोस्रो संस्करण हो। सम्मेलनले शिक्षाविद्, उद्यमी, नीति निर्माता, सरकारी प्रतिनिधि, युवा, विकास साझेदार र अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याउनेछ। यसले शैक्षिक ज्ञान र व्यावसायिक अनुभव बीच पुल निर्माण गर्दै दिगो उद्यमशीलताको बहसलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमकि संयोजक सगुनबाबा श्रेष्ठका अनुसार, सम्मेलनका सत्रहरूमा अनुसन्धान, नवप्रवर्तन, र नीति कार्यन्वयनबीचको सम्बन्धबारे गहन छलफल हुनेछ।

त्यसैगरी, सम्मेलन कनभेनर तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डे भन्छन: “यो सम्मेलन नेपालजस्तो विकासशील मुलुकका युवाहरूले सामना गरिरहेका बेरोजगारी, अवसरको अभाव र नवप्रवर्तनको चुनौतीसँग जुध्न सक्ने गरी प्रेरणादायी बन्नेछ ।”

उद्यमशीलताको बीउबाट अन्तर्राष्ट्रिय सम्मेलनसम्म
कलेजका अध्यक्ष नरोत्तम अर्यालले सम्मेलनको सन्दर्भमा २०११ को त्यो दिन सम्झिए, जब कलेज टेकओभर गर्दा उद्यमशीलता भन्ने शब्द नै नौलो थियो। “त्यतिबेला बैंकतर्फ आकर्षण थियो, स्टार्टअप भन्नु कल्पना थियो,” उनी भन्छन्, “आज किङ्सले नेपालमै बसेर विश्वस्तरीय सम्मेलन गर्न सक्ने सामर्थ्य बनाएको छ।”

शुरुमा कलेजमा ६,७ जना मात्र उद्यमशीलता विषयमा पढ्न तयार हुन्थे, त्यो पनि चिया कफी खाँदै पढाउने अवस्था थियो। आज, नेपालभर नै उद्यमशीलता पढ्ने लहर छ, र किङ्स यसको केन्द्रमा छ । अर्याल थप्छन्, “अब उद्यमशीलता कुनै निजी कम्पनी खोल्ने कुरा मात्र होइन, यो एक सोच भैसकेको छ । राजनीतिमा, शिक्षामा, समाजमा, हरेक क्षेत्रमा उद्यमशील मानसिकताको खाँचो छ।”

किङ्स कलेज: शिक्षा मात्र होइन, भविष्य निर्माणको प्रयोगशाला
किङ्स कलेजले नेपालका युवालाई केवल डिग्री होइन, सोच्न सिकाउने, समाधान निकाल्न प्रेरणा दिने, र सम्भावनालाई स्वरूप दिन सक्ने बाटो देखाइरहेको छ। उद्यमशिलताको बीउ बोकेर सुरु गरिएको यो कलेज अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दैछ: नीतिमा, नवप्रवर्तनमा, र नेतृत्वमा ।