1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राजस्व संकलनमा चमक, तर पुरा भएन सरकारकै संशोधित लक्ष्य

काठमाडौँ, १ साउन। सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो वर्षको तुलनामा यो एक खर्ब २० अर्ब रुपैयाँले बढी हो, जुन करिब ११.३३ प्रतिशतले वृद्धि भएको हो ।

२०८०/०८१ मा सरकारले १० खर्ब ५८ अर्ब संकलन गरेको थियो। यस पटकको संकलन लक्ष्य सुरुमा १४ खर्ब १९ अर्ब थियो, तर वर्षको बीचमा समीक्षा गर्दै लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब बनाइएको थियो। संशोधित लक्ष्यको तुलनामा यो ९१.६० प्रतिशत पुरा भएको हो।

अर्थ मन्त्रालय राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्रीका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, विपद्‌ र आर्थिक चुनौतीबीच पनि अघिल्लो वर्षको तुलनामा राम्रो संकलन भएको हो। “यो उत्साहजनक प्रगति हो,” खत्रीले भने, “अब चालू वर्षमा लक्ष्य पुरा गर्ने तयारी गर्दै अघि बढिरहेका छौं।”

चालू आर्थिक वर्ष २०८२/०८३ मा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

अघिल्ला वर्षहरूमा भएको राजस्व संकलन यसप्रकार छ:
२०७१/०७२: ४ खर्ब ५ अर्ब
२०७२/०७३: ४ खर्ब ८१ अर्ब
२०७३/०७४: ६ खर्ब ९ अर्ब
२०७४/०७५: ७ खर्ब २६ अर्ब
२०७५/०७६: ८ खर्ब २९ अर्ब
२०७६/०७७: ७ खर्ब ९३ अर्ब
२०७७/०७८: ९ खर्ब ३५ अर्ब
२०७८/०७९: १० खर्ब ६६ अर्ब
२०७९/०८०: ९ खर्ब ५७ अर्ब
२०८०/०८१: १० खर्ब ५८ अर्ब

राजस्व संकलनमा देखिएको यो वृद्धि सरकारको राजस्व प्रणाली सुधार तथा कर प्रणाली सुदृढीकरणतर्फको प्रयासको संकेत हो। अबको चुनौती भनेको चालू वर्षको लक्ष्यमा पुग्ने हो, जुन अझै पनि सहज छैन ।