1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेका ढकाल अब राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष

काठमाडौँ, २ साउन। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिमा नयाँ अध्यक्षको रूपमा देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा ढकाललाई अध्यक्ष नियुक्त गरेको थियो । ढकाल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समयसम्म कार्यरत रहेका ढकाल गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण सेवा निवृत्त भएका थिए । ढकाल बैंकिङ प्रशासन, वित्तीय प्रणाली र नियमन सम्बन्धी विषयका विज्ञ हुन् ।

पद ग्रहणको क्रममा सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी लगायत बैंकका वरिष्ठ कर्मचारीहरूले ढकाललाई स्वागत गरेका थिए ।

वित्तीय क्षेत्रको नियमन तथा नीतिगत पक्षमा लामो अनुभव भएका ढकालको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले अझ प्रभावकारी सुधार र विस्तारको दिशा लिने अपेक्षा गरिएको छ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३०९ वटा शाखा मार्फत ७७ वटै जिल्लामा ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ।

बैंकले प्रविधिमा आधारित वित्तीय पहुँच विस्तार र दिगो बैंकिङ सेवामा विशेष ध्यान दिँदै आएको छ।