1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

१८ जीवन गुमाएको सौर्य दुर्घटना: छानबिन आयोगले बुझायो अन्तिम प्रतिवेदन, पाइलट र कम्पनी दोषी

काठमाडौँ, ३ साउन। सौर्य एयरलाइन्सको सीआरजे २०० कलसाइन ९एन–एएमई जहाज दुर्घटनाबारे गठित छानबिन आयोगले पाइलटको गल्ती र वायुसेवा कम्पनीको गम्भीर लापरबाहीलाई प्रमुख कारण ठहर गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई शुक्रबार बुझाइएको प्रतिवेदनमा स्पष्ट रूपमा प्राविधिक होइन, मानवीय त्रुटिकै कारण जहाज दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालिएको छ।

गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट सि–चेकका लागि पोखरा उडेकाे जहाज टेकअफ गर्ने क्रममा ‘डीप स्टल’ मा पुगेको थियो। पाइलट मनीष शाक्यले जहाजको अगाडिको भाग अत्यधिक उचालेपछि पिच दर असामान्य रूपमा बढेर गति घट्दा जहाजले उचाइ लिन नसकी जमिनमा ठोक्किएको थियो। दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

आयोगले स्पीडकार्ड नै गलत बनाइएको र त्यसको आधारमा उडानको ‘भी–स्पीड’ गणना त्रुटिपूर्ण भएको औँल्याएको छ। जहाज ३४ दिनदेखि ग्राउन्डेड रहेको, मर्मतको क्रममा प्रयोग हुने सामग्री र उपकरण अनियमित रूपमा जहाजमा लोड गरिएको, तथा कार्गो र ब्यागेजको तौल व्यवस्थापनसमेत बेवास्ता गरिएको देखिएको छ।

फेरी फ्लाइटको सञ्चालन, अपरेसन म्यानुअलको पालना र सुरक्षा प्रोटोकलको पूरै अवज्ञा गरिएको आयोगको ठहर छ। जहाजमा आगलागी हुँदा ज्यान जाने अवस्थासम्म पुग्नुमा सुरक्षा गेट व्यवस्थापन, सामग्री भण्डारणको अव्यवस्था र विमानस्थलको आपतकालीन प्रतिक्रिया प्रणालीको असफलता समेत उल्लेख गरिएको छ।

नागरिक उड्डयन प्राधिकरणको नियमन तथा विमानस्थल सुरक्षा संरचना पनि प्रभावकारी नभएको भन्दै प्रतिवेदनमा संरचनागत सुधार आवश्यक रहेको सिफारिस गरिएको छ।