1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मूल्याङ्कन पेशा संकटमा: बैंकको मनोमानी रोक्न एशोसिएशनको चेतावनी

काठमाडौँ, ८ साउन। नेपाल भ्यालुयर्स एशोसिएशनले नेपाल बैंकर्स सङ्घसँग पूर्वमै भएको सहमति कार्यान्वयनमा गम्भीर ध्यान दिन आग्रह गरेको छ। मूल्याङ्कनकर्तामाथि गरिएको अनुचित कारबाहीको सिफारिस फिर्ता लिई समस्या समाधानमा गम्भीरता देखाउन एशोसिएशनले सम्बन्धित निकायलाई अनुरोध गरेको हो।

एशोसिएशनका उपाध्यक्ष दिनेशकुमार पाठकका अनुसार हालै घरजग्गाको मूल्य घटेकै आधारमा मूल्याङ्कन गर्ने इञ्जिनियरहरूलाई कालोसूचीमा राख्ने तथा काम कारबाहीको सिफारिस गर्ने प्रवृत्ति तीव्र भएपछि यसबारे गम्भीर ध्यानाकर्षण गराइएको हो। पाठकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग पटकपटक पत्राचार र छलफल भए पनि समस्या समाधानमा गम्भीरता नदेखिएको बताए।

एशोसिएशनले अत्यधिक मात्रामा मूल्याङ्कनकर्ता सूचीकृत गर्ने तर काम नदिने प्रचलन अन्त्य गर्दै, चक्रिय प्रणालीमार्फत कार्यादेश दिने तथा सूचीकृत मूल्याङ्कनकर्ताहरूले नियमित रूपमा काम प्राप्त गर्ने सुनिश्चितता गर्न बैंकलाई अनुरोध गरेको छ। यसबाट व्यावसायिक निष्पक्षता, पारदर्शिता र संस्थागत मर्यादा कायम रहने एशोसिएशनको ठम्याइ छ।

त्यसैगरी, भ्यालुयर्स एशोसिएशनले आफैले निर्धारण गरी प्रकाशित गरेको मूल्याङ्कन परामर्श शुल्कलाई यथाशीघ्र लागू गर्न माग गर्दै, यसअगाडि गरिएको निलम्बनको निर्णय फिर्ता लिन आग्रह गरेको छ।

एशोसिएशनको दाबी अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले मूल्याङ्कनकर्तामाथि आवश्यकता भन्दा बढी दबाब सिर्जना गर्दै मनोमानी व्यवहार गर्दै आएका छन्, जसले पेशागत स्वतन्त्रता र उत्तरदायित्वमा आँच पुर्‍याइरहेको छ।

उपाध्यक्ष पाठकले मूल्याङ्कनकर्ताको पेशालाई मर्यादित र सम्मानजनक बनाउन सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन्। बैंकिङ क्षेत्र र मूल्याङ्कन पेशाबीच पारस्परिक सहकार्य, सहमति र पारदर्शी प्रक्रियामार्फत समस्या समाधान गर्न सकिने एशोसिएशनको निष्कर्ष छ।