1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कांग्रेस बागमतीमा ठूलो हलचल: बानियाँको नेतृत्वमा तामाङ हटाउने अभियान सुरू

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य ईन्द्र बानियाँ मुख्यमन्त्री बन्न कस्सिएका छन् ।

आफूनिकट २१ सांसदहरुको समर्थन जुटाएर मुख्यमन्त्री बहादुरसिंह लामा तामाङविरुद्ध दलको नेतामा उनले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि तामाङले अब विधानअनुसार बहुमत सदस्यको समर्थन शिद्ध गर्नुपर्ने हुन्छ ।

कांग्रेस प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने व्यवस्था रहेको छ । तामाङले बहुमत शिद्ध गर्न नसकेको खण्डमा उनी दलको नेताबाट हट्नुपर्ने हुन्छ ।

दलको नेताबाट हटेसँगै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने हुन्छ । यता कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री बन्न कस्सिएका छन् । आज अविश्वासको प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले तामाङ नेतृत्वको सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताए ।

संसदीय दलका अधिकांश नेताहरुको ठहर तामाङले काम गर्न नसकेको रहेको उनको भनाइ छ । तामाङमाथि अविश्वास पैदा भएकाले आफूहरुले बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता गराएको उनको बताए ।

साथै, उनले पार्टी सभापति शेरबहादुर देउवाको ग्रिन सिग्नलको पनि संकेत गरे । ‘देउवासँगकै सहमतिमा अघि बढ्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो तीन तहको संरचना छ ।

विधानले दिएको अधिकार अनुसार सबै स्वतन्त्र छन् आफ्नो निर्णय गर्नको लागि, केन्द्रीय सभापति अभिभावक हो । अभिभावकसँग परामर्श छलफल विभिन्न राजनीतिक विषयमा हुन्छन् ।’