1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

चितवनमा विद्युत कटौतिको समस्या समाधान, अब बत्ति जादैन ढुक्क हुनुस: उर्जामन्त्री

काठमाडौँ, ११ साउन। आज चितवनमा देखिएको विद्युत आपूर्ति समस्या समाधान भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सम्बन्धी फैलिएको हल्लालाई पूर्ण रूपमा असत्य र भ्रामक भनेको छ ।

प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै चितवनको नयाँ भरतपुर (३३/११ के.भी.) सबस्टेसनमा देखिएको प्राविधिक समस्या समाधान भइसकेको र अब लोडसेडिङ नहुने स्पष्ट जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार नयाँ लाइन निर्माण अन्तिम चरणमा पुगेको छ र आज (आईतबार) साँझदेखि नियमित रुपमा विद्युत आपूर्ति हुनेछ।

उर्जा मन्त्री दिपक खड्काले समेत चितवनवासीलाई अब कुनै पनि प्रकारको लोडसेडिङ नहुने ग्यारेन्टी दिएका छन । उनले बिहानैदेखि प्राधिकरणका इन्जिनियर र प्राविधिक टोली मर्मत स्थलमै रहेर आज देखिएको समस्याको स्थायी समाधान गरिसकेको स्पष्ट पारे ।

यता प्राधिकरणले चितवनमा देखिएको लाइन क्षमताको सीमितता र लोड वृद्धि तथा लाइन सिफ्टिङको कारण उत्पन्न समस्या तत्काल समाधान गरिएको जनाएको छ। केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर फैलाइएको सूचना झुटो भएको उल्लेख गर्दै प्राधिकरणले यस्तो भ्रामक प्रचारप्रति दुःख व्यक्त गरेको छ ।

प्राधिकरणले, चितवन क्षेत्रमा विद्युत आपूर्तिको अस्थायी समस्या पूर्णतः प्राविधिक थियो र यसका लागि आवश्यक उपायहरू अवलम्बन गरिसकिएको स्पष्ट पारेको छ। अब बिद्युत कटौतीको कुनै कारण नरहेको र देशैभर विद्युत आपूर्ति नियमित रहने प्राधिकरणले बताएको छ।

उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देखाएको द्रुत अग्रसरता, समन्वय र समस्या समाधानको प्रतिबद्धताले चितवनका नागरिकमा आशा र विश्वासको नयाँ किरण ल्याएको छ ।