1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपाल उद्यमशीलता फोरम सम्पन्न, दिगो उद्यमशीलताको एजेन्डामा गहिरो विमर्श

काठमाडौँ, ११ साउन। नेपालमा दिगो र समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित नेपाल उद्यमशीलता फोरम २०२५ सम्पन्न भएको छ।

किङ्स कलेजको आयोजनामा सम्पन्न दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले सामाजिक उद्यमशीलताको विविध पक्षमा गहन छलफल गर्दै ५०० भन्दा बढी उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता, शैक्षिक क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएको थियो ।

“टुवर्ड्स सस्टेनेबल आन्टरप्रिनरशिप इकोसिस्टम” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा दिगो व्यवसाय, प्रविधि नवप्रवर्तन, सामाजिक समावेशिता, जलवायु अनुकूल अभ्यास, मार्गदर्शन (मेन्टोरशिप), सार्वजनिक-निजी साझेदारी, र नीतिगत सुधारका विषयमा बहस र संवाद गरिएको थियो।

सम्मेलन संयोजक सगुन बाबा श्रेष्ठका अनुसार, “नेपाल उद्यमशीलता फोरम केवल विचार आदानप्रदानको थलो होइन, बरु उद्यमशीलता इकोसिस्टमलाई बलियो बनाउने वास्तविक सहकार्य र प्रेरणाको स्रोत बन्‍न सफल भयो।”

उनका अनुसार फोरमले उद्यमशीलताको नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नाफा, सामाजिक उद्देश्य र वातावरणीय उत्तरदायित्वलाई समाहित गर्ने मोडेललाई प्रवर्द्धन गरेको छ।

सम्मेलनमा विविध प्यानल छलफल तथा अन्तरक्रियात्मक सत्र मार्फत शैक्षिक दृष्टिकोण र व्यवहारिक अनुभवलाई जोड्ने प्रयास गरिएको थियो। सहभागीहरूले सामाजिक उद्यमशीलता क्षेत्रका हालका चुनौती, अवसर र नवप्रवर्तनका उपायहरूबारे अनुभव आदानप्रदान गरेका थिए।

किङ्स कलेजका अनुसार, सन् २०१६ मा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलनदेखि सुरु भएको यो प्रयासले नेपाली उद्यमशीलता समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र सशक्त बनाउने दिशामा महत्वपूर्ण योगदान दिँदै आएको छ।