1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

विपदमा सुरक्षा: कर्णाली प्रदेशले दियो १६ हजार घरधुरीलाई बिमा संरक्षण

काठमाडौँ, १३ साउन। कर्णाली प्रदेशमा पहिलो चरणमा १६ हजार ७२ घरधुरीलाई प्राकृतिक विपद् बिमा कार्यक्रम अन्तर्गत सुरक्षा प्रदान गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको ‘घर बिमा शुभारम्भ कार्यक्रम’ अन्तर्गत १५ स्थानीय तहका २१३ वडाका घरधुरीहरूले बिमाको संरक्षण पाएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले घरको मूल्याङ्कनपछि स्थानीय तहबाट प्राप्त विवरणका आधारमा गत असार २५ गतेसम्म दर्ता भएका घरहरूलाई बिमा योजनामा समावेश गरिएको जानकारी दिए । उनले भने, “यो योजना विपद्का बेलामा आम नागरिकलाई सुरक्षा दिने हाम्रो प्राथमिकता मध्ये एक हो।”

कार्यविधि अनुसार, प्रतिघर अधिकतम २० लाख रुपैयाँसम्मको बिमा प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था छ। अहिलेसम्म कुल ९८ लाख २४ हजार रुपैयाँ बिमा प्रिमियम भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ।

मुख्य सचिव वीरेन्द्रकुमार यादवले भने, “हाम्रो प्रदेश भौगोलिक रूपमा जोखिमयुक्त र विकट भएकाले प्राकृतिक विपद् संरक्षणका लागि यो योजना ल्याइएको हो। निजी बीमक कम्पनीहरूसँग मिलेर घरहरूको मूल्याङ्कन भईरहेको छ, जसले नागरिकको सम्पत्तिमा थप सुरक्षा दिनेछ।”

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले यस बिमा योजनालाई प्रभावकारी, सहज र नागरिकमैत्री रहेको प्रतिक्रिया व्यक्त गरेका छन्। बिमा योजना भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, आतङ्कवाद र हुलदङ्गजस्ता प्राकृतिक जोखिमबाट घरमा पर्ने क्षतिप्रति संरक्षण दिनेछ।

मन्त्रालयले यस आर्थिक वर्षमा थप तीन करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको र आगामी चरणहरूमा पनि बिमा विस्तार गर्ने योजना रहेको जनाएको छ।