1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

२२ अर्बको विद्युत बिक्रीबाट हाइड्रोपावरहरुले कमाए साढे ३ अर्ब नाफा ।

काठमाडौं : सूचीकृत हाइड्रोपावरर कम्पनीहरुमध्ये ८८ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यी कम्पनीहरुले समग्रमा ३ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये ६२ वटा कम्पनीले खुद नाफा कमाउन सफल भएका छन् । बाँकी २६ कम्पनीहरु घाटामा रहेको सार्वजनिक वित्तीय विवरणले देखाएको छ । अपर तमाकोशी एउटैको घाटा ८२ करोड ११ लाख रुपैयाँ छ । जसले गर्दा पनि समग्र नाफामा केही दबाब परेको हो ।

वित्तीय खर्च कम हुँदा धेरै हाइड्रोपावरको नाफामा सुधार आएको छ । बैंकहरुको ब्याजदर हाल घट्दै आएको छ । जसले गर्दा हाइड्रोपावरहरुको ब्याज खर्च पनि पछिल्लो समयको भन्दा कम देखिएको छ । जसले गर्दा नाफामा सुधार आएको छ । यद्दपि, सबै कम्पनीहरुको वित्तीय खर्च घटेको छैन । केहीले पहिलाको भन्दा धेरै रकम वित्तीय खर्च गरेका छन् । ब्याजदर कम भएको अवस्थामा केही कम्पनीहरुले धेरै रकम ऋण तिर्नलाई प्रयोग गरेको हुन सक्छ ।

हाइड्रोपावर कम्पनीहरुमा वित्तीय खर्चअन्तर्गत सामान्यतयः परियोजना निर्माणका लागि बैंक–वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा–ब्याज भुक्तानी पर्दछ । ब्याजदर सस्तो हुँदा अधिकांश हाइड्रोपावरहरुको यस्तो खर्चमा कमी आएको दोस्रो त्रैमासको रिपोर्टमा देखिन्छ ।

यता, विद्युत बिक्रीबाट हुने आम्दानी पनि धेरैको बढेको छ । ५ वटाले मात्र उत्पादन सुरु गरेका छैनन् । ८८ कम्पनीले २२ अर्ब २ करोड १३ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेका छन् । सबैभन्दा धेरै विद्युत उत्पादन गर्नेमा अपर तामाकोशी अगाडि छ । यसले ३ अर्ब ३४ करोड रुपैयाँको विद्युत बिक्री गरेको छ । साहसले १ अर्ब ६१ करोड र सानिमा मिडल तमोरले १ अर्ब ७ करोड रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् ।

त्यस्तै, यी कम्पनीहरुको समग्र जगेडा कोषमा ११ करोड ७९ लाख जम्मा रहेको छ । सबैभन्दा धेरै बुटवल पावरको ३ अर्ब ६५ करोड दोस्रोमा, सानिमा माई हाइड्रोपावरको ३ अर्ब १२ करोड, साहज उर्जाको २ अर्ब ९८ करोड, चिलिमेको २ अर्ब ३८ करोड ङादी ग्रुप पावरको २ अर्ब १२ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ । ४८ कम्पनीको जगेडा कोष ऋणात्मक छ । अपर तामाकोशीको जगेडा कोष ९ अर्ब २० करोड ३४ लाख रुपैयाँले ऋणात्मक छ । ४ वटा कम्पनीको उक्त कोष १ अर्ब रुपैयाँ भन्दा धेरैले ऋणात्मक छ ।

हाइड्रोपावर कम्पनीहरुको समग्र चुक्ता पुँजी १ खर्ब ६० अर्ब ९५ करोड ६९ लाख रुपैयाँ भन्दा धेरै छ । जसमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी अपर तामाशीको देखिएको छ । यसको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । चिलिमेको ८ अर्ब ७८ करोड, रसुवागढीको ६ अर्ब ८४ करोड २१ लाख, अपि पावरको ६ अर्ब ७ करोड ५९८ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ । सबैभन्दा कम कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ करोड १८ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ ।

यता, ८८ वटा हाइड्रोपावर कम्पनीहरुको प्रतिसेयर आम्दानी औसतमा ५.४६ रुपैयाँ रहेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जीको ३९.३५ रुपैयाँ (वार्षिक) इपीएस रहेको छ । सहासको ३७.५६ रुपैयाँ देखिएको छ । ६२ कम्पनीको इपीएस धनात्मक छ । त्यसैगरी, सबैभन्दा धेरै प्रतिसेयर बुक भ्याल्यू ङादीको २१४.९९ रुपैयाँ बुक भ्याल्यू छ । बुटवल पावरको २०७.११ रुपैयाँ, सानिमा माईको १९२.०३ रुपैयाँ छ । ४ वटाको बुक भ्याल्यू ५० रुपैयाँ भन्दा कम छ ।