1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

विकास बैंकहरुको नाफा ३ अर्ब माथि, फाइनान्सहरुको नाफामा भारी गिरावट ।

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा सूचीकृत विकास बैंकहरुले ३ अर्ब ३६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यता, फाइनान्स कम्पनीहरुले भने समग्रमा ७० करोड ८६ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १६ वटा विकास बैंकहरुले कमाएको नाफा गत वर्षको तुलनामा ७.६५ प्रतिशत धेरै हो । गत वर्षको फागुनमा विकास बैंकहरुले ३ अर्ब १२ करोड ७२ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेका थिए ।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक अगाडि देखिएको छ । गरिमा विकास बैंकले ८ महिनामा ८३ करोड ४८ लाख, मुक्तिनाथ विकास बैंकले ७८ करोड ७८ लाख र शाइन रेसुंगाले ५६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । १६ बैंकहरुमध्ये ११ वटा नाफामा छन् भने ५ वटाले खुद घाटा व्यहोरेका छन् ।

यता, चालु आवको फागुनसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुले समग्रमा ७० करोड ८६ लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन् । गत वर्ष यी कम्पनीहरुले २२ करोड २८ लाख नाफा कमाएका थिए । राष्ट्र बैंकको तथ्यांक अनुसार ८ वटा फाइनान्सहरु मात्र नाफामा छन् । बाँकी कम्पनीले भने खुद घाटा व्यहोरेका छन् । यी कम्पनीहरुमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा आइसीएफसी फाइनान्स अगाडि देखिएको छ । यसले १४ करोड २४ लाख नाफा कमाएको छ ।

खराब कर्जा बढ्दा आम्दानीको अधिकतम रकम प्रोभिजनमा छुट्याउनु पर्ने अवस्था आएको कारण नाफामा दबाब परेको हो । त्यसमाथि आर्थिक मन्दीका कारण ऋणीहरुलाई सावा ब्याज तिर्नलाई पनि मुस्किल परेको छ । जसको सीधा असर बैंकहरुको वित्तीय रिपोर्टमा परेको हो । जस कारण यी संस्थाहरुको नाफामा कमी आएको कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको नाफामा भारी गिरावट देखिएको छ ।