1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

एनभीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड रविन र निरुतालाई ।

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबका रविन चन्द‌ र नेपाल एपीएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभीए अवार्ड २०८१ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा शुक्रबार काठमाडौंको माइतिघर हाईटस्थित कार्की ब्याङक्वेटमा भएको कार्यक्रममा रविनले पुरुष र निरुताले महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । अवार्डसँगै उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै वर्ष उदीयमान पुरुष खेलाडीको अवार्ड पुलिस क्लबका पहल गहतराज र महिलातर्फ न्यू डायमण्ड क्लबकी सुमित्रा रेग्मीले प्राप्त गरे । अवार्डसँगै उनीहरुले पनि समान ५० हजार रुपैयाँ हात पारे । नेपाल एपीएफ क्लबका महेश चौधरी पुरूष टिम र नेपाल पुलिस क्लबका रुपेश विष्टले महिला टिमतर्फ वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । यससँगै उनीहरुले पनि समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट टिमको अवार्ड पुरुषतर्फ नेपाल एपीएफ क्लब र महिलातर्फ नेपाल पुलिस क्लबले जित्दै समान २ लाख रुपैयाँ प्राप्त गरे । कार्यक्रमकै दौरान गत वर्ष भएको काभा यू-२० च्याम्पियनसिपमा उपविजेता बन्न सफल पुरुष टोलीलाई ४ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।