1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

अब कांग्रेस एक्लै चुनाव लड्छ, गठबन्धनको कुरा सकियो : कांग्रेस महामन्त्री गगन थापा।

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीले चुनावअघिको गठबन्धनको पाटो बन्द भएको बताएका छन्।

शनिबार धनकुटामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालको निर्वाचन कांग्रेसले एक्लै लड्ने स्पष्ट पारेका हुन् । महामन्त्री थापाले कांग्रेसले एक्लै चुनाव लड्दै गर्दा माओवादी, एमालेलगातका दलहरु जोसँग पनि मिल्नसक्ने बताए । त्यसको लागि कांग्रेसको संगठन बलियो हुनुपर्नेमा उनले जोड दिए। त्यसैका लागि महामन्त्री थापाले नेता र कार्यकर्तालाई अहिलेबाटै बलियो संगठन निर्माणमा जुट्न आग्रह गरे ।

थापाले २०७९ सालको चुनावतर्फ फर्किँदै एमालेले राजावादी दल राप्रपासँग मिलेर गठबन्धन गरेको प्रसंग पनि उठाए। उनले कांग्रेसविरुद्ध को–कोसँग मिल्न सक्छ भन्ने ग्यारेन्टी नहुने भन्दै, पार्टीले अझ बढी सतर्क हुनुपर्ने स्पष्ट पारेका छन् ।

कार्यक्रममा थापाले पार्टीभित्र वडा तहदेखि नै गुटबन्दी भइरहेकोप्रति चिन्ता व्यक्त गरे। पार्टीका ठूला नेताहरू जब–जहिले जससँग पनि मिल्न सक्ने कुरा गर्दै, उनले तल्लो तहमा भने गुटको राजनीति नगर्न अपिल गरे ।

‘अब आउने चुनावमा कांग्रेस अरूसँग मिलेर चुनाव लड्दैन,’ उनले भने, ‘हामीले चुनावअघि गठबन्धन गर्ने त्यो अध्याय सकिएको छ। हाम्रो लागि त्यो च्याप्टर क्लोज भइसक्यो। अरूको लागि खुला होला, तर हामीले चाहिँ अब आफ्नो संगठन बलियो बनाउनै पर्छ।’ उनले थपे, ‘हामी एकता कायम गर्न सकेनौं भने कांग्रेसका विरुद्ध अरू जतिसुकै पार्टीहरू मिल्न सक्छन्। अहिले सडकमा राजावादी नारामा उफ्रिनेहरूमध्ये धेरैलाई अघिल्लो वर्षसम्म विभिन्न दलहरूले संरक्षण दिएका थिए। को–को थिए तिनीहरूलाई पाल्ने? हेर्नुहोस्, यस्तै हो।’

त्यसैले अब कांग्रेसभित्र एकता र संगठन सुदृढ गर्नुपर्ने बेला आएको थापाको भनाइ थियो । उनले सबै कार्यकर्तालाई आन्तरिक विवादमा अल्झिनु होइन, पार्टीलाई मजबुत बनाउन लाग्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।