1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

चार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने ।

काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गरेका छन् ।

नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले आगामी वैशाख १ गते भ्रमण वर्षको उद्घाटन गर्ने बताइको छ । भ्रमण वर्ष १ वर्षभरी चल्ने र सो क्रममा १ लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ ।

नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचार प्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा नगरकोट भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धकको रुपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाइवाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, शंखरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल,चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ ।

नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको बताइएको छ । नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, भेषभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्र्दै होमस्टेहरुको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने आयोजकको भनाइ छ ।