1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मन्त्रीले बेवास्ता गर्दा सरकारी खेतीयोग्य जमिन समेत कटानमा

बाँके, ९ वैशाखः राष्ट्रिय पशु प्रजनन कार्यालयको मानखोलास्थित खेतीयोग्य जमिन कटानमा पर्दै आएको छ ।

तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन कटानका कारण क्षति पुगेको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताएका छन ।

“धेरै वर्षदेखि मानखोलाले जमिन कटान गर्दै आएको थियो । पछिल्लो दुईवर्षमा तीव्र कटान हुन थालेको छ”, उनले भने, “पछिल्लो वर्षमा मात्रै करिब डेढ बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर बगाएको छ ।”

यो वर्ष तटबन्धन गर्न नसकिए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले जानकारी दिए । दुई वर्षसम्म पनि तटबन्धन गर्न नसकिए मानखोलाले पशु प्रजनन कार्यालय सँगसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढ्दै गएको उनले बताएका छन् ।

कटान रोकथामका लागि पटकपटक मन्त्री, सचिव, महानिर्देशक र सरोकार भएका निकायमा पहल गरे पनि आवश्यक बजेट उपलब्ध हुन नसक्दा समस्या बढ्दै गएको उनको गुनासो छ ।