1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय, निजामति कर्मचारीलाई परिचालन गरिने

काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बैठकपछि बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिएका थिए । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने र विद्यार्थीको समय खेर जाने भएपछि बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको हो।

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधकिारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गरिने छ । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने गरी बोर्डले निर्णय गरेको छ ।

आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने छ ।

मंगलबार बसेको बोर्डको बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटा सहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ ।