1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भारतीय मन्त्री खट्टर काठमाडौँमा, प्रधानमन्त्री भेटदेखि मुस्ताङसम्मको यात्रा

काठमाडौं, ९ वैशाख । भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौँ आईपुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर दुईदिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका हुन् ।

भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गरेका ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिएका छन् ।

सङ्खुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा मंगलबार हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

दुईदिने भ्रमणका क्रममा नेपाल आएका भारतीय विद्युत् र आभास तथा शहरी मामिलामन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी नेपाल भ्रमणका क्रममा उनले मुस्ताङ र पशुपतिनाथको समेत धार्मिक यात्रा गर्ने मन्त्रालयले जनाएको छ ।