1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

ललितपुर, १२ वैशाख । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताएका छन ।

गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगर पालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद र त्यसले पुर्याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपदबाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नु पर्नेमा जोड दिएका छन ।

“हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपदमा खोज उद्धार र राहत प्रति कार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ”, उनले भने ।

गृहमन्त्री लेखकले विपद पछिको पुनःनिर्माण, खोज, उद्धार र राहातका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे । “पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू–भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ ।” मन्त्रि लेखकले भने । विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन कार्यमा ललितपुर महानगर अब्बल रहेको दाबी गरे । “एउटै छाना मुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेट भित्रै महानगरबाट सेवा प्रदान गर्छौँं, काम गरिरहेका पनि छौँ”, महर्जनले भने । विपदबाट पाटन दरबार क्षेत्रमा धेरै मन्दिर तहसनहस भएका उल्लेख गर्दै उनले अधिकांश मन्दिर पुनःनिर्माण गरिएका बताए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा शोहेईले विपद्को समयमा तीव्र रुपमा काम गर्न सक्ने तयारी तथा बलियो एकता जरुरी रहेको बताए । उनले जापान सरकार तथा जाइकाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोग निरन्तर जारी रहने बताए । नेपाल र जापानको उस्तै भौगोलिक परिस्थिति रहेको उल्लेख गर्दै उनले पुनःनिर्माण र पूर्वाधार निर्माणलाई भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक रहेको बताए ।

नेपालका लागि जापानका राजदूत मायदा तोरूले विपदमा हामीले भोग्नुपरेको पीडा र विगतको कमजोरी सुधार गरेर विपदमा सुरक्षित रहन सन्देशमूलक कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद फेरि नआओस् भन्नका निम्ति प्रकृतिको नियमलाई पालना गर्न प्रतिबद्धता जनाउन तथा सचेत रहनका लागि सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताईन ।