1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ, १२ वैशाख । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित एक समारोह बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरका हुन ।

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो । इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टेपटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो । यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन् ।

नेपालमा कूल जनसङ्ख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या रहेको र विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताएका छन । मन्त्री पौडेलले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका स्पष्ट पारे । भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउदै मन्त्री पौडेलले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुने मन्त्री पौडेलले बताएका छन ।

भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताए । अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको बताउदै राजदूत श्रीवास्तवले मन्त्री पौडेलको अनुरोधमा यो सहयोग गरेको स्पस्ट पारे । यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा रहेको समेत राजदूत श्रीवास्तवले बताए । केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेको बताउदै राजदूत श्रीवास्तवले क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा रहेको बताएका छन ।