1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे

काठमाडौँ, १३ वैशाख । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् ।

उनी शुक्रबार बेलुकी एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।
यसबीचमा हङकङमा भएको चारदेशीय टी-२०आई शृंखलामा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक तोकिएका थिए । ५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ। गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो।

शनिबारदेखि लको उपस्थितिमा माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीको कोर क्याम्प पनि सुरु हुँदैछ ।अनुभवी प्रशिक्षक लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।

नेपाली क्रिकेट टोलीमा प्रशिक्षण गर्ने उनी दोस्रो अस्ट्रेलियन हुने छन् । यसअघि सन् २०२१ मा डेभ वाटमोर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।