1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

खरो रुपमा उत्रिन कामपा उपमेयर डंगोल, प्रशासनलाई कडा निर्देशन

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले एउटै योजनाबाट धेरै नागरिकलाई लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिएकी छिन ।

विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका बारेमा समीक्षा गर्दै उपप्रमुख डंगोलले एउटै योजनाबाट धेरै नागरिक लाभान्वित हुने कार्यक्रमको लागि निर्देशन दिएकी हुन् ।

आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भइसकेको बताउदै उपप्रमुख डंगोलले आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सिमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ भन्दै क्रमागत योजना घटाउँदै लैजानु पर्ने बताईन । उनले अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यक्रम तर्जुमा गर्ने समय भएकाले कर्मचारी सरूवा नगर्न निर्देशन दिएकी छिन । एउटाले अघि बढाएको कामबीचमा आएर अर्कोलाई टुङ्गोमा पुर्‍याउन कठिन हुन्छ भन्दै गुरागाईँलाई उपमेयर डंगोलले यस्तो निर्देशन दिएकि हुन् ।

बिहीबारको बैठकमा डंगोलले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनाबद्ध काम गर्नुपर्ने बताईन । संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने, बैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगरसभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समय सापेक्ष र व्यवहारिक बनाउन योजना गर्नुपर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नुपर्ने पनि उनको भनाइ छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले, प्रक्रियामा आएका फाइल कतै नरोकिने गरी निर्णय प्रक्रियामा लगिएको जानकारी गराएका थिए । त्यस्तै कामपाले आव २०८२/०८३ का लागि प्रदेश सरकारले तर्जुमा गर्ने आर्थिक ऐनमा समेट्नु पर्ने करसम्बन्धी विषयमा छलफल सुरू गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग भएको करसम्बन्धी सुझाव र राजस्व समितिबाट पेस भएको सुझाव सम्बन्धी प्रस्तावका विषयमा छलफल भएको हो । समितिले प्रदेश र स्थानीय सरकारका साझा अधिकारमा रहेका कर शीर्षकहरू मनोरञ्जन कर, विज्ञापन कर, जरिवाना छुटलगायत विषयमा छलफल भएकोे राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिएका छन ।