1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नुवाकोटको ककनी–५ : विकासका पर्याय बने वडा अध्यक्ष बुद्धराज

रिपोर्ट: खबर भोइस | नुवाकोट, १४ वैशाख । काठमाडौंदेखि करिब २९ किलोमिटर टाढा रहेको ककनी गाउँपालिका, नुवाकोटको एक पहाडी गाउँपालिकाको रुपमा चिनिन्छ । बागमती प्रदेशको समुन्द्री सतहदेखि १८२८ मिटर उचाइमा अवस्थित ककनी पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय छ । तर, यहाँको वडा नम्बर ५ त झनै फरक छ—जहाँ विकास, जनसहभागिता र समृद्धिको नयाँ अध्याय लेखिँदैछ ।

स्थानीयबासीहरू खुलेर भन्ने गर्छन्, “हाम्रो वडा अध्यक्ष बुद्धराज लामा विकासकै लागि जन्मनुभएको हो जस्तो लाग्छ ।” कारण पनि छ—कहिले बाटो बनाउने, कहिले खानेपानी पुर्‍याउने, कहिले विद्यालयको भवन बनाउने अनि कहिले कृषकलाई ट्याक्टर दिने—सबै काममा लामा अगाडी छन् ।

अघिल्लो तीन वर्षमै वडामा आमूल परिवर्तन आएको स्थानीयहरू बताउँछन् । सडकहरू पिच र ढलान भएका छन्, अधिकांश बस्तीमा नाली, धारा र बिजुली पुगेको छ । २ सय ३२ घरधुरीमा धारा जडान गरेर खानेपानी पुर्‍याइएको छ । त्यस्तै, सिंचाइका लागि तीन वटा पानिको मुहान पक्की बनाइएको छ ।

वडा अध्यक्ष लामा भन्छन, “पहिले वडामा कताबाट कति बजेट आउँछ भन्ने स्थानियलाई थाहा थिएन, विकास भनेको कसरी हुन्छ भन्ने बुझाइ थिएन । तर अहिले जनता आफै जागरुक छन्, योजनामा भाग लिन्छन्, सुझाव दिन्छन्, निगरानी गर्छन् । काम गर्न सजिलो भएको छ ।”

वडामा गोरेटो, ढलान र सिढी सडकहरू निर्माण त भएका छन् नै, पर्यटन प्रवर्द्धनका लागि भ्युटावर, जल्पादेवी मन्दिर, निङमा टासी छयोलिङ गुम्बा निर्माण गरिएको छ भने लाउके झरना र पिकनिक स्पटहरू व्यवस्थित गरिएको छ । पछिल्लो समय लाउके झरना चर्चामा आएको छ—करिब १२० मिटर लामो यो झरना नुवाकोटको पर्यटकीय पहिचान बन्ने अपेक्षा गरिएको छ ।

कृषिमा पनि ५ नम्बर वडा आत्मनिर्भरता र व्यावसायिकता तर्फ उन्मुख छ । २५ वटा ट्याक्टर कृषकलाई अनुदानमा वितरण गरिएको छ भने करिब ५६ घरमा स्ट्रबेरी खेतीका लागि बिरुवा दिइएको छ । पशुपालन र चिया खेतीमा पनि विशेष कार्यक्रमहरू सञ्चालनमा छन् ।

शिक्षा क्षेत्रमा निजी स्रोतबाट १२ शिक्षकलाई वडाले तलब दिदै आएको छ भने ‘ककनी ब्राइट स्कुल’ को भवन निर्माण वडाले गरिरहेको छ । वडा कार्यालयले औद्योगिक ग्रामको डिपिआर समेत गरिसकेको छ, जसले भविष्यमा रोजगारीका अवसर खोल्ने विश्वास गरिएको छ ।

वडा अध्यक्ष लामा भन्छन्, “हामीसँग ठूलो बजेट छैन, तर प्रदेश सरकार, खासगरी मुख्यमन्त्रीको सहयोगबाट काम गर्न सजिलो भएको छ । सबैले साथ दिएकाले यो रूपान्तरण सम्भव भएको हो ।”

सडक बत्ती, ककनी–शिवपुरी पुल निर्माण, चौतारा निर्माण, महिला समूहहरूलाई सहयोग, बसन्ती दरबारको संरक्षण, तामाङ भाषा र सम्भोट लिपिको प्रवर्द्धनजस्ता कामहरू पनि यो वडाले अग्रसर भएर गरिरहेको छ ।

ककनी गाउँपालिकाका अन्य वडामध्ये वडा नम्बर ५ अहिले उदाहरणीय वडाको रुपमा स्थापित भइरहेको छ । यहाँको विकास, नेतृत्व र जनसहभागिताको कथा अरू वडाहरूका लागि प्रेरणा बनेको छ ।