1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउन गृहमन्त्रीको जोड

काठमाडौँ, १४ वैशाख । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोडदिएका छन ।

आईतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उनले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताएका हुन् ।

“यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो”, गृहमन्त्री लेखकले भने, “यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।” उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यसमा आधारभूत सामग्रीहरू राख्नुपर्ने बताए ।

“प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ”, मन्त्री लेखकले भने, “त्यसमा आधारभूत सामग्री राखौँ । ती गोदामघरलाई सङ्घ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ । तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा समन्वय गर्न तयार छौँ ।”

उनले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिँदै काठमाडौँ बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उल्लेख गरे ।

विपद् व्यवस्थापनका विषयमा सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहने गृहमन्त्रीको भनाइ छ । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्गठित भएर सबै लाग्नुपर्नेमा जोड दिएका छन ।