1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राष्ट्र बैंक चनाखो हुन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आईतबार भैरहवा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका छन ।

बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिए । “सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढङ्गले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैंकले समीक्षा गर्न जरुरी छ ।”

प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । राष्ट्र बैंक बैंकको बैंक भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उहाँले बताए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा आवद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षको उपस्थिति रहेको थियो ।