काठमाडौँ, ३० वैशाख । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गभर्नर नियुक्तिको विषयले अन्तर्राष्ट्रियस्तरमा बेइज्जती भएको बताएका छन ।
अहिले विश्व पौडेलको नाम गभर्नरको लागि प्रस्ताव गरिएको र पौडेलको सम्भावना धेरै अगाडि बढेको खतिवडाले स्पष्ट पारे ।
मंगलबार नेपाली रेडियो नेटवर्कको एक कार्यक्रम मार्फत नेता खतिवडाले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर बनाउने सहमति भए अनुसार डा.गुणाकर भट्टलाई पहिला प्रस्ताव गरिएको थियो । सोही अनुसार डा.भट्टले पनि नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा समेत दिए ।
कामु गभर्नर डा.निलम ढुङ्गानाले डा भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले अहिले डा विश्व पौडेलको नाम प्रस्ताव गरेको छ ।
गभर्नर नै नियुक्ति गर्न नसक्ने सरकारले के गर्ला भन्ने म्यासेज देश बाहिर समेत जान थालेको चिन्ता ब्यक्त गर्दै नेता खतिवडाले छिटोभन्दा छिटो सरकारले नियुक्ति टुङ्ग्याउनुपर्ने बताए ।




