पर्सा, ३१ वैशाख । पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले विकास निर्माणको काममा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन ।
बुधबार पर्सा स्थित जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै पूर्व मन्त्री रिजालले विकासमा सबै दलको सहकार्य आवश्यक रहेको बताएका हुन ।
कार्यक्रममा बोल्दै रिजालले लोकतन्त्र र संघीयतामा जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने खालको विकास निर्माण हुन आवश्यक रहेको धारणा समेत राखे । “गाउँठाउँमा विकास नभई लोकतन्त्र र संघीयताको अनुभूति जनताले गर्न सक्दैनन्,” भन्दै पूर्वमन्त्री रिजालले सबै राजनीतिक दलहरू मिलेर विकासका एजेन्डामा एकजुट हुनुपर्नेमा विशेष जोड दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वडा कार्यालय आफ्नै भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीहरूको काम सहज हुने र नागरिकहरूले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे। “हामीले पालिकाका सबै वडामा सेवा र विकास सन्तुलित ढंगले विस्तार गर्ने लक्ष्य राखेका छौँ,” यादवले भने।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जिल्ला समन्वय समिति पर्सा र जगरनाथपुर गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न गरिएको भवन दुई तल्ले भएको र यसको लागत १ करोड १० लाख रुपैयाँ रहेको जानकारी दिए ।
स्थानीय सरकारको सेवा सशक्त बनाउन नवनिर्मित भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको स्थानीयले बताए । पूर्वमन्त्री रिजालको नेतृत्वमा उद्घाटन भएको यस भवनले जनतासँग सरकारको पहुँचलाई विस्तार गर्दै यँहाबाट जानभावना अनुरुप कार्यसम्पादन हुनेमा आफुहरु बिश्वस्त रहेको समेत स्थानीयले बताएका छन ।
वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता भएको उद्घाटन समारोह कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्वमन्त्री रिजालको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रशासकीय अधिकृत सन्देश यादवसहित जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।




