काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको पूर्ण निर्भरता आयातमै सीमित छ। आफ्नै पेट्रोल वा डिजेल उत्पादन नभएको अवस्थामा हरेक थोपा इन्धन देशका लागि बहुमूल्य छ।
यही यथार्थलाई स्मरण गराउँदै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश दिएका छन्- “सामान्य बचतले पनि राष्ट्रलाई ठूलो राहत दिन सक्छ।” उनको भनाइ अनुसार, यदि एक जना मोटरसाइकल चालकले दिनमा केवल १ लिटर पेट्रोल बचत गर्न सके भने पनि अहिले राज्यले दैनिक करिब २२ करोड रुपैयाँ जोगाउन सक्छ। त्यस्तै, चारपाङ्ग्रे सवारीसाधन प्रयोग गर्ने प्रत्येक प्रगोगकर्ताले १ लिटर डिजेल वा पेट्रोल बचत गर्दा थप ४ करोड रुपैयाँ जोगिन सक्छ।
यो केवल अंकगणितीय हिसाब मात्र होइन, राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्भीर सन्देश हो। यदि यस्तै बचत निरन्तर १५ दिनसम्म कायम राख्न सकियो भने करिब ३९० करोड रुपैयाँसम्म देशले जोगाउन सक्छ ।जुन रकमले विकास निर्माणदेखि अत्यावश्यक सेवासम्म ठूलो योगदान पुर्याउन सक्छ।
डा. भट्टको यो सन्देश केवल इन्धन बचतको आग्रह मात्र होइन, यो नागरिक जिम्मेवारीको स्मरण पनि हो।अनावश्यक यात्रा घटाउने, सवारी साझा गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने जस्ता साना व्यवहारिक परिवर्तनहरूले देशको ठूलो आर्थिक भार कम गर्न सक्ने देखिन्छ।
आजको सन्दर्भमा, जब विश्व बजारमा इन्धनको मूल्य अस्थिर छ र नेपालको अर्थतन्त्र आयातमा अत्यधिक निर्भर छ, त्यस्तो अवस्थामा नागरिकको सानो सचेतनाले पनि ठूलो प्रभाव पार्न सक्छ।





