काठमाडौँ । गृहमन्त्रीको राजीनामापछि देशको राजनीतिक वातावरण एकाएक तातिएको छ। सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चर्किँदै जाँदा यो घटनाले नयाँ राजनीतिक बहस जन्माएको हो ।
नेकपाका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक रूपमा लिँदै छोटो तर अर्थपूर्ण प्रतिक्रिया दिएका छन्। उनले भने, “उहाँले दिनुभयो, राम्रो गर्नुभयो।”
गुरुङमाथि अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीबारे प्रश्न उठेपछि बढ्दो दबाबबीच उनले पद त्यागेका हुन्। प्रचण्डको यो टिप्पणीले सत्ताभित्रै असन्तुष्टि रहेको संकेत दिएको भन्दै विभिन्न कोणबाट व्याख्या हुन थालेको छ।
यता, प्रतिपक्षी नेकपा एमालेले भने यस घटनालाई आफ्नो पूर्वआशंका पुष्टि भएको रूपमा व्याख्या गरेको छ। एमाले महासचिव शंकर पोखरेलले पछिल्ला घटनाक्रमले आफूहरूले उठाएका प्रश्नहरू क्रमशः सही सावित हुँदै गएको दाबी गरेका छन्।
च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’देखि पछिल्ला विवादहरूलाई षड्यन्त्रपूर्ण भन्दै सरकारमाथि गम्भीर आरोप लगाए। “घटनाहरूले हाम्रो आशंका प्रमाणित गर्दै लगेका छन्,” उनले भने।
पोखरेलले तोडफोड र विध्वंसका घटनाहरू योजनाबद्ध रहेको जिकिर गर्दै पार्टीले समयमै जनतामाझ सन्देश पुर्याउन नसक्दा अहिलेको अवस्था आएको दाबी गरे। साथै उनले सुशासनको नाममा एमालेमाथि मात्रै आरोप लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै वर्तमान सरकारमा रहेका नेताहरूको सम्पत्ति पनि छानबिन गर्नुपर्ने माग अघि सारे।
गृहमन्त्रीको राजीनामाबाट सुरु भएको यो बहस अब सत्ता र प्रतिपक्षबीचको खुला टकरावमा रूपान्तरण हुने संकेत देखिएको छ।




