काठमाडौँ । थापाथली क्षेत्रस्थित बागमती खोला किनारको सुकुम्बासी बस्ती खाली गराउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बुधबार प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रमुख (आईजीपी) दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर यसबारे छलफल गरेका थिए। सोही क्रममा बस्ती खाली गर्ने विषयमा आवश्यक तयारी गर्न निर्देशन दिइएको स्रोतले जनाएको छ।
छलफलमा सहभागी एक उच्च सुरक्षा अधिकृतका अनुसार आगामी शनिबार र आइतबारभित्र बागमती खोला किनार क्षेत्रमा रहेका संरचना हटाउने विषयमा प्रारम्भिक तयारीबारे कुरा भएको हो।
उनले भने, “यस विषयमा छलफल भएको छ। अब काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग पनि थप समन्वय गरेर अघि बढ्ने कुरा भएको छ।”
थापाथली क्षेत्रको बस्ती लामो समयदेखि अव्यवस्थित बसोबासका कारण विवादमा रहँदै आएको छ। यसअघि पनि उक्त क्षेत्रमा पटक–पटक खाली गराउने प्रयास भए पनि स्थानीयको प्रतिरोधका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन।
सरकारले यसपटक भने समन्वय र सुरक्षा व्यवस्थासहित बस्ती व्यवस्थापन अघि बढाउने तयारी गरेको बुझिएको छ।




