काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा सार्वजनिक स्थानमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गराउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
गोपाल रनपहलीसहित ११ जनाले संयुक्त रूपमा दायर गरेको रिटबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्। रिटमा भूमिहीन तथा सुकुम्बासी परिवारलाई उचित पहिचान र प्रमाणीकरण नगरी तथा वैकल्पिक बसोबासको व्यवस्था नगरी जबर्जस्ती हटाउन नहुने माग गरिएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै नदी किनारका बस्ती आज साँझ ७ बजेसम्म खाली गर्न निर्देशन दिएका थिए। उक्त सूचनापछि बस्ती क्षेत्रमा अन्योल र चिन्ता बढेको छ।
रिट निवेदनमा देशभरका यस्ता बस्तीका परिवारलाई व्यवस्थित पुनर्स्थापनाको व्यवस्था नगरी कुनै पनि प्रकारको हटाउने वा विस्थापन गर्ने कार्य रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
सर्वोच्च अदालतले अब उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै आवश्यक आदेश दिनेछ।




