काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई आधिकारिक कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न निर्देशन दिएको छ। साथै लेटरहेड, भिजिटिङ कार्ड लगायतका सामग्रीमा एकरूपता कायम गर्न पनि आग्रह गरिएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको अनौपचारिक बैठकपछि प्रवक्ता मनिष झाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार पार्टीले सांसदहरू अझै सिकाइको चरणमा रहेकाले मेन्टर र सल्लाहकारसँग सहकार्य गर्दै सुझाव लिन पनि प्रोत्साहित गरेको छ।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै अनुशासनका विषयमा पनि कडाइ गर्ने संकेत दिएको छ। वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ अभ्यास सुरु हुने भएकाले कसैले कसैलाई टिकटको विषयमा अग्रिम प्रतिबद्धता नगर्न स्पष्ट निर्देशन दिइएको छ। यदि यस्ता गतिविधि भेटिए कारबाही गरिने चेतावनी पनि पार्टीले दिएको छ।
यसैबीच, केही समयअघि विश्वराज पोखरेलले आफूलाई ‘माननीय’ भनेर स्वागत नगरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई हप्काएको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र व्यवहार र शैली सुधारको बहस चर्किएको थियो।




