काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का नेतृत्वको समूहको भेला आज पनि जारी रह्यो। भेलाको सुरुवातमै खड्काले पार्टीको वर्तमान अवस्था, क्रियाशील सदस्यता र संगठन विस्तारका विषयमा विस्तृत ब्रिफिङ दिएका छन्।
उनले पार्टीभित्रको सदस्यता व्यवस्थापन र अभियान कसरी अघि बढाउने भन्नेबारे नेताहरूलाई स्पष्ट दिशा दिन खोजेका थिए। खड्काका अनुसार अहिलेका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री हुँदा क्रियाशील सदस्यतालाई अनलाइन प्रणालीमा लैजाने प्रस्ताव अघि सारिएको थियो। तर महासमिति बैठकले भने साधारण सदस्यता खुला गर्दै क्रमशः अनलाइनमा लैजानुपर्ने निष्कर्ष निकालेको उनले स्मरण गराए।
खड्काले अहिले नेतृत्वले सदस्यतालाई सीमित दायरामा राख्न खोजेको आरोप लगाए। “पार्टीको जरा भनेकै क्रियाशील सदस्य हुन्, त्यसलाई नियन्त्रणमा राखेर होइन, विस्तार गरेर मात्रै संगठन बलियो हुन्छ,” उनले भने। साथै, पछिल्ला वर्षहरूमा सरकार र पार्टी सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै जनताको मन जित्न नसकिएको बताए।
उनका अनुसार धेरै कार्यकर्ताहरू पार्टीबाट औपचारिक रूपमा नबाहिरिए पनि असन्तुष्ट भएर मत परिवर्तन गरेका छन्। त्यस्ता कार्यकर्तालाई पुनः विश्वासमा लिन घरदैलोमै पुगेर संवाद गर्नुपर्ने आवश्यकता उनले औंल्याए। खड्काले पार्टीभित्र बढ्दो असन्तुष्टि र अन्तरविरोधलाई बुझेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। “आधुनिक बनाउने नाममा पार्टीको ऐतिहासिक पहिचान नै बदल्ने प्रयास स्वीकार्य हुँदैन,” उनले चेतावनी दिए।
उनले जननायक बिपी कोइराला, सुवर्ण शमशेर र गणेशमान सिंहहरूले स्थापित गरेको ‘क्रियाशील सदस्य’ अवधारणालाई जोगाउनुपर्ने बताए।
अन्त्यमा उनले नेताहरूले आफ्ना कमजोरी स्वीकार्दै कार्यकर्तामा विश्वास जगाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।




