काठमाडौँ, २१ असार। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज राति एसियन कप २०२६ छनौटको निर्णायक खेलमा घरेलु टिम उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
दुवै टोलीले अघिल्ला दुई खेलमा प्रभावशाली जित दर्ता गरेका छन्, र अब फाइनल भिडन्तमा विजेता सिधै एसियन कपमा स्थान बनाउने छ ।
इतिहासमा तीनै खेलमा पराजित भएको नेपाल आज बदला लिने मनस्थितिमा छ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सहितको टिममा आत्मविश्वास भरिएको छ। यसअघि नेपालले लाओस र श्रीलङकालाई क्रमशः ९-० र ८-० ले हराएको थियो, भने उज्वेकिस्तानले पनि ठूला जित दर्ता गरिसकेको छ।
फिफा वरियतामा उज्वेकिस्तान नेपालभन्दा माथि भए पनि आजको खेल केवल र्याङ्किङको होइन – यो भविष्यको ढोका खोल्ने निर्णायक लडाइँ हो। यदि बराबरी भयो भने खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।
यसैबीच, बंगलादेशले म्यानमारलाई हराउँदै पहिलो पटक महिला एसियन कपको टिकट काट्दै दक्षिण एसियाको महिला फुटबलमा नयाँ इतिहास रचेको छ। नेपालका लागि पनि २६ वर्षपछि एसियन कपमा पुनरागमन हुन, आजको खेल स्वर्णिम अवसर हो ।




