२०८३ बैशाख १३

प्रधानमन्त्री ओली स्वदेश फर्किए, अन्तर्राष्ट्रिय मञ्चमा नेपालका मुद्दा जोरदार उठाएको दाबी

काठमाडौँ, २४ साउन। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली गएराती स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो। प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो ।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका थिए । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना भएको थियो ।